ट्रान्सफर्मर प्रकरणमा अख्तियारको बेवास्ता

काठमाडौं, १३ मंसिर । नेपाल विद्युत् प्राधिकरणद्वारा खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा अर्बांको घोटालाविरुद्ध परेको उजुरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत बेवास्ता गरेको छ ।
गुणरस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएका प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठलाई सफाइ दिए पनि त्यसपछि त्यसमा संलग्न अन्य तीन महाप्रबन्धक र कर्मचारीबारे भने प्राधिकरणले समेत कुनै निर्णय गर्न सकेको छैन । गत असोजमै तीन महाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, उपेन्द्रदेव भट्ट र गणेशप्रसाद राजसँग तथा १७ कर्मचारीसँग स्पष्टीकरण लिए पनि प्राधिकरणले कुनै कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन । उनीहरू सबैले स्पष्टीकरण भने बुझाइसकेका छन् । ‘गुणस्तरहीन ट्रान्सफर्मरको कारणले प्राधिकरणले बर्सेनि दुई अर्बभन्दा बढी घाटा बेहोरिएको छ तर त्यस्ता ट्रान्सफर्मर प्रकरणमा जोडिएका कर्मचारीलाई प्राधिकरणले पूरै बेवास्ता गरेको छ,’ प्राधिकरणका एक अधिकारीले आक्रोशित हुँदै भने, ‘अख्तियारले खरिदको क्रममा अर्बौं घोटाला भएको प्रकरण अख्तियारले छानबिन गर्ला भनेको त्यसले पनि पूरै बेवास्ता गरेको छ ।’
अख्तियार स्रोतले भने सबै कागजपत्र नआएकाले अनुसन्धान प्रक्रिया अघिबढ्न नसकेको बताए । ‘सबै कागजपत्र आउन बाँकी छन्, अहिले खासै अनुसन्धान प्रक्रिया अघि बढेको छैन,’ अख्तियारका एक अधिकारीले भने । छानबिनका लागि उजुरी परेको चार महिना बितिसक्दा पनि अख्तियारले सबै फाइल मगाउन धेरै ताकेता गरेको छैन भने प्राधिकरणले अख्तियारले ताकेता नगरेपछि बेवास्ता गर्दै आएको छ ।
ट्रान्सफर्मर गुणस्तरहीन प्रकरणमा मुछिएबारे छानबिन गर्न सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित समितिले भदौमा दिएको प्रतिवेदनले निर्देशक श्रेष्ठसहित ३३ जनालाई दोषी देखाएको थियो । त्यसमध्ये पूर्वप्राधिकरण प्रमुख दीपेन्द्रनाथ शर्मा, टीकाराम विसीलगायत समेत मुछिएका छन् । प्रतिवेदनअनुसार, तत्कालीन अवस्थामा जिन्सी तथा भुक्तानी शाखामा कार्यरत पुष्पराज खड्का, विजयकुमार चौधरी, हरिबहादुर गोसी, सुरेन्द्रप्रसाद पनेरू, कैलाशकुमार अटल र नवराज ओझालाई संलग्न रहेको देखाइएको छ । त्यसैगरी ट्रान्सफर्मर निरीक्षणका लागि सतीशकुमार कर्ण, मनोज बराल, विकासबहादुर रघुवंशी, राधेश्याम महतो, नवीनकुमार लाभ, विद्युत् पौडेल, सुरजप्रसाद शाह, निमेष पोखरेल, विनोदकुमार स्वर्णकार, रामविजुल मण्डल, सिन्धु यादव, शेखरकुमार दत्त, सुरेन्द्रराज जोशी, अभिषेक अधिकारी, मदन चापागाई, प्रज्वल पाण्डे र बोधबार ढकाललाई समेत दोषी देखाइएको छ । गुणस्तरहीन ट्रान्सफर्मरबारे छानबिन गर्न प्राधिकरण सञ्चालक सदस्य केपी दुलालको संयोजकत्वमा गठित समितिले चैत्र २५ मा ०६४ सालयता खरिद गरिएका ५ हजारभन्दा बढी ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । यस अघि ०६६ सालमा पूर्वसञ्चालक मुकेश काफ्लेको संयोजकत्वमा रहेको समितिले समेत ट्रान्सफर्मरहरू गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो तर त्यो प्रतिवेदन कार्यान्वयन भएन । ‘प्राधिकरणमा गुणस्तरहीन ट्रान्सफर्मरसँगै धेरै अनियमितता छन् तर प्राधिकरण व्यवस्थापनले त्यसलाई छानबिन गरेर कारबाही गर्न सकेको छैन, जसको कारण प्राधिकरण धराशयी बन्दै गएको छ,’ प्राधिकरणमा लामो समय काम गरेका इन्जिनियर रवीन्द्रबहादुर श्रेष्ठले भने ।
चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीमार्फत आयात गरिएका ट्रान्सफर्मरमा बाहिर तामा र भित्र आल्मुनियम भेटाएपछि त्यसबारे गत भदौ १५ गते सौर्य दैनिकले फोटोसहित समाचार छापेको थियो । त्यसपछि निरन्तर समाचार सम्प्रेषण गरेपछि प्राधिकरणमाथि गुणस्तरहीन ट्रान्सफर्मर छानबिनबारे अघि बढाउन चर्को दबाब परेको थियो । तर, पछिल्लो समयमा प्राधिकरण र अख्यितारले दुवैले बेवास्ता गर्दै आएका छन् । प्राधिकरणका कर्मचारी युनियनहरूसमेत ट्रान्सफर्मर प्रकरणमा मुछिएका सबैलाई कारबाही गर्नुपर्ने आवाज उठाउँदै आए पनि प्राधिकरण व्यवस्थापनले बेवास्ता गर्दै आएको छ ।

प्रतिक्रिया