यिनी निको हुन सक्छिन् रे

फ्लोरिडा : क्याटी रेन्फ्रो नाम गरेकी यी चार वर्षीय अमेरिकी बालिका जन्मिएकै थिइनन्, जतिबेला उनलाई मिगेलेनसिफेली नामक रोग लागेको थियो । यही रोगका कारण अहिले उनको अनुहार अस्वाभाविक रूपमा ठूलो छ । आनुवंशिक गडबडीका कारण यस्तो रोग लाग्ने भए पनि चिकित्सकले उपचार हुनसक्ने जनाएपछि क्याटीको परिवार उत्साही बनेको छ ।

अमेरिकाको फ्लोरिडास्थित मेमोरियल अस्पतालले शल्यक्रियामार्फत क्याटीको उपचार हुनसक्ने जनाएपछि मंगलबारबाट उनको उपचार सुरु हुने भएको छ । समस्या निदानका लागि करिब सातवटा शल्यक्रिया गर्नुपर्ने अस्पताल स्रोतले जनाएको छ ।
अहिले क्याटीको गालामा मासुका बाक्ला पत्र थुप्रिएका छन् । अनुहारमा मासु थुप्रिएकाले उनको कनमा पनि समस्या आएको छ । मुख खुला भएकाले उनको लामो जिब्रो चौबीसै घन्टा बाहिर निस्किइरहन्छ ।
क्याटीकी आमा डेनियल रेन्फ्रोले डाक्टरहरूले छोरीको गाला घटाउन सकिने बताएकाले उपचार गर्न लागेको बताइन् । ‘डाक्टरहरूले मेरी छोरीको गाला सानो पार्ने, कानको आकार मिलाउने र जिब्रो छोट्याउने तयारी गरेका छन् । भगवानको कृपा भएछ भने उनलाई निको हुनेछ,’ डेनियलले भनिन् । आफूहरूले क्याटीलाई अन्य छोराछोरीलाई जस्तै माया दिएको उल्लेख गर्दै डेनियलले भनिन्, ‘ऊ शारीरिक रूपमा अशक्त छे भन्ने आभास हुन दिएका छैनौँ । उसलाई हामीले असाध्यै माया र हेरविचार गरेर हुर्काएका छौँ ।’ क्याटी उनीहरूकी छैटौँ सन्तान हुन् । (डेलिमेल)

प्रतिक्रिया