सापकोटा र दोङको मुद्दामा अन्तरिम आदेश

काठमाडौं, ११ मंसिर । सर्वोच्च अदालतले एमाओवादीका नेता अग्नि सापकोटा र सूर्यमान दोङलगायतको कर्तव्य ज्यान अभियोगको जाहेरी दरखास्त तामेलीमा राख्ने मन्त्रिपरिषद्को निर्णय बदर माग गरी दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिएको छ ।
सात बर्षअघि तत्कालीन विद्रोही नेकपा (माओवादी)बाट हत्या गरिएका काभ्रे दाप्चाका अर्जुन लामाकी पत्नी पूर्णिमायाले मंसिर–८ गते दायर गरेको रिटमा आज अन्तरिम आदेश सुनाउँदै सर्वोच्चले मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयन नगर्नु, नगराउनु भनी आदेश जारी गरेको हो ।
सर्वोच्चका न्यायाधीश बैजनाथ उपाध्यायको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश समेत जारी गरेको अधिवक्ता अम्बर राउतले जानकारी दिए ।
मन्त्रिपरिषद्ले एकीकृत माओवादीका नेता सापकोटा र दोङसमेतको विरुद्धमा सर्वोच्चको २०६४ फागुन–२७ गतेको आदेशानुसार जिल्ला प्रहरी कार्यालय काभ्रेमा दायर गरेको किटानी जाहेरी दरखास्त र त्यसमा भएका आदेशहरु एवं अनुसन्धानलाई समेत प्रभाव पार्ने गरी २०६९ साउन–१२ तामेलीमा राख्ने निर्णय गरेको थियो ।
काभ्रे छत्रेबाँझस्थित कृष्ण माध्यमिक विद्यालयको कार्यक्रममा सहभागी भइरहेका बेला २०६२ बैशाख–१६ गते अपहरणमा परेका अर्जुन लामाको त्यसको तीन महिनापछि अर्थात असारको दोस्रो साता काभ्रेकै बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा तत्कालीन बिद्रोही नेकपा (माओवादी)का नेता सापकोटा र दोङको निर्देशनमा हत्या गरिएको अभियोग छ ।

प्रतिक्रिया