आगलागीबाट एक किशोरीको मृत्यु

फिदिम, ११ मंसिर । पाँचथरको च्याङथापु बजारमा आगलागी हुँदा एक बालिकाको मृत्यु हुनुका साथै करोडौँको सम्पत्ति जलेर नष्ट भएको छ ।
शनिबार राति आगलागी हुँदा स्थानीय भक्तिप्रसाद बेघाकी १३ वर्षीया छोरी सोनियाको जलेर मृत्यु भएको हो । प्रहरीका अनुसार स्थानीयवासी पूर्णिमा बेघाको घरबाट शनिबार राति ११.३० बजे सल्केको आगोले बजारका १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट ती घरका डेरावालासहित ५२ परिवार बिचल्लीमा परेका छन् । उनीहरूको अलैँची, अदुवा, अम्रिसोका साथै खाद्यान्न, लत्ताकपडा, गरगहना र नगदसमेत गरी करिब सात करोड रुपियाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयका हवल्दार गोरमान राईले बताए ।
उक्त आगलागीका कारण भाडाका घरमा रहेको सीमा प्रहरी चौकीसमेत जल्दा सञ्चार सेटमा क्षति पुगेकाले समयमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क हुन नसकेको जानकारी हवल्दार राईले दिए ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । बजारका सम्पूर्ण घर जलेर नष्ट भएपछि मात्र आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले घरमा क्षति पुगेका परिवारलाई तत्कालका लागि पाँच हजार रुपियाँका दरले तथा मृतकका अभिभावकलाई ४० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरी, आइतबारदेखि नै विभिन्न सामाजिक संघसंस्थाले पीडितलाई राहत वितरण गर्न थलेका छन् ।

झापामा १० लाखको क्षति
झापा : सुरुंगा–३ मा आइतबार आगलागी हुँदा १० लाख रुपियाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय निर्मल खनालको घरमा विद्युत् सर्टका कारण भएको आगलागीबाट दुईतले काठको घर, १० तोला सुन, ७० तोला चाँदी, ४७ हजार नगद, टिभी र ल्यापटप एकएक थानलगायत सामग्री नष्ट भएको प्रहरीले जनाएको छ । बिहान ११ बजे लागेको आगो प्रहरी, स्थानीय बासिन्दा, वारुणयन्त्रको सहयोगमा दिउँसो १ बजे नियन्त्रणमा आएको थियो ।

चितवनमा पनि उस्तै
चितवन : चितवनको शारदानगरमा शनिबार राति आगलागी हुँदा करिब १० लाख रुपियाँ बराबरको क्षति भएको छ ।
शारदानगर–५ स्थित हेल्थपोस्टनजिकै रहेको भीमबहादुर गुरुङको घरमा राति करिब १ बजे विद्युत् सर्ट भई आगो लाग्दा दस लाख मूल्य बराबरका सामान क्षति भएको प्रहरी चौकी चनौलीले जनाएको छ ।
आगलागीसँगै भान्सामै रहेको ग्यास सिलिन्डर पड्किँदा थप क्षति भएको चौकीका प्रहरी सहायक निरीक्षक भानुभक्त आचार्यले जानकारी दिए । भरतपुर नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया