एमाओवादीमा दुई खेमा छः अध्यक्ष राणा

काठमाडौं, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले राष्ट्रपतिको कदमलाई लिएर एमाओवादी भित्र दुई खेमा रहेको दाबी गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले एमाओवादी राष्ट्रपति विरुद्ध जाने कुनै अवस्था नरहेको बताए । ‘एमाओवादीमा पनि राष्ट्रपतिको कदमको विषयमा दुई धार छ,’ उनले भने, ‘अध्यक्ष पुष्पकमल दाहालको खेमा राष्ट्रपति विरुद्ध आन्दोलन गर्ने पक्षमा छैन ।’
अध्यक्ष राणाले राष्ट्रपतिले तोकेकै समयभित्र विपक्षीहरुले आफ्ना तर्फबाट सहमतिको प्रधानमन्त्री दिने दावी गरे । उनले दुई–दुई पटक एमाले र एमाओवादीले सरकारको नेतृत्व गरिसकेकाले अबको सहमतीय सरकारको नेतृत्व कांग्रेसले पाउने विश्वास ब्यक्त गरे ।
उनले भने, ‘एमाले र माओवादीले नेतृत्व गरिसकेकाले अब कांग्रेसको नेतृत्व स्वभाविक हुन्छ ।’
अध्यक्ष राणाले ६–६ महिनासम्म सहमतिको सरकारका लागि ठोस पहल गर्न सरकारले टेरपुच्छर नलगाए पछि राष्ट्रपतिले आह्वान गर्नुपरेको बताए ।
‘मुलुकमा लामो समयदेखि परेको राजनीतिक गाँठो फुकाउन राष्ट्रपतिद्वारा चालिएको कदमलाई कसैले पनि नकारात्मक रुपमा लिन हुँदैन,’ उनले भने, ‘सरकारले पनि समस्या समाधानको हिसावमा सकारात्मक रुपमा लिनु पर्छ ।’

प्रतिक्रिया