जन्मियो नयाँ पार्टी

काठमाडौं, ८ मंसिर । पहिचानयुक्त संघीयताको नारा लिएर एमाले त्यागेका जनजाति नेताहरूको पहलमा नयाँ पार्टी बिहीबार घोषणा भएको छ । एमालेका पूर्वउपाध्यक्ष अशोक राईको अध्यक्षतामा बनेको पार्टीमा उपाध्यक्ष मात्रै आठजना छन् भने केन्द्रीय सदस्य ९८ जना छन् ।

नवगठित संघीय समाजवादी पार्टी नेपालले ‘वर्गीय मुक्तिका लागि समाजवाद, जातीय मुक्तिका लागि संघीयता’ भन्ने नारा अघि सारेको छ । पार्टीमा एमाले छाडेका नेताहरू बढी छन् । पहिचानसहितको संघीयताको मुद्दामा एमाले नेतृत्व असहमत भएपछि तत्कालीन उपाध्यक्ष राईसहितका नेताले पार्टी छाडेका थिए ।
एमाले छाडेका नेताहरु विजय सुब्बा, वीरबहादुर लामा, रकम चेम्जोङ, प्रेमकृष्ण पाठक, हेमराज राई, मोहम्मद रिजवान अन्सारी, गोपाल ठाकुर नवगठित पार्टीमा उपाध्यक्ष छन् । कांग्रेसका पूर्वनेता दुर्गामणि देवानलाई पनि उपाध्यक्ष बनाइएको छ । यस्तै एमाले छाडेका राजेन्द्र श्रेष्ठ महासचिव र अजम्बर राई काङमाङ उपमहासचिव छन् । नेकपा एकीकृतबाट आएकी  राधा तिमल्सिना र कांग्रेस छाडेका नोर्साङ सेर्पा पनि उपमहासचिव छन् । मीना गुरुङ, होरीलाल चौधरी, कर्णबहादुर बुढामगर, रामसिंह यादव र डिबी नेपाली सचिव छन् ।
नवगठित पार्टीका अध्यक्ष राईले केन्द्रीय तदर्थ समिति घोषणा गर्दै केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा मंगलसिद्धि मानन्धर, केन्द्रीय अनुशासन समितिको अध्यक्षमा रणध्वज कन्दङवा, केन्द्रीय निर्वाचन समितिको अध्यक्षमा राजकुमार राई र केन्द्रीय लेखापरीक्षण समितिको अध्यक्षमा सुशीला श्रेष्ठ रहेको जानकारी दिए । मझिलाल थारू थनेत, योगीलाल यादव, आङकाजी शेर्पा किसान, हरि घिमिरे, देवराज राई, सानुराजा शाक्य, विजय राई, अनिल मिश्र, उर्मिला साह, डा. गणेश योञ्जन, मेम्वर ल्हो, रामचन्द्र ढकाल, जुद्ध ढाक्रे, कृष्णकुमारी वाइबा, टेकबहादुर चेपाङ, लीला सिटौला, शिव न्यौपाने, शम्भु चौधरी, चन्द्रविक्रम राई, शिवकुमार कापड, पानबहादुर भुजेल, मालती महतलगायत सदस्य छन् ।
पार्टीको झन्डासमेत सार्वजनिक गरेका अध्यक्ष राईले अहिलेका राजनीतिक दलहरू जनताको चाहनाअनुरूप सफलतापूर्वक संक्रमणकाल पूरा गर्न नसकेको उल्लेख गर्दै उनीहरूले मुलुकलाई अन्योल र अन्धकारतर्फ धकेलेको आरोप लगाए । ‘संविधानसभाबाटै उत्पीडितको पक्षमा नयाँ संविधान जारी गर्न दुईतिहाइ बहुमत पुग्थ्यो, संविधान जारी भएको भए नेपाली जनताको पक्षमा हुने थियो तर उत्पीडित जाति, वर्ग, लिंगले अधिकार पाएको देख्न नचाहने केही नेताको षड्यन्त्रबाट संविधान जारी नभई संविधानसभा भंग भयो,’ उनले भने, ‘आज मुलुक कुन बेला द्वन्द्वमा जाने हो भन्ने टुंगो छैन । यस्तो बेला जनताको वैकल्पिक शक्ति निर्माणको चाहनालाई मूर्तरूप दिन संघीय समाजवादी पार्टी लिएर उपस्थित भएका छौँ ।’
उनले नयाँ पार्टी आफूहरूको आत्मतुष्टि र केही नेताको अहंकार पुष्टि दुवैका लागि नभएको स्पष्ट पार्दै जनताका लागि भएको दाबी गरे । मुलुकमा समावेशी लोकतन्त्र आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘विविध समस्या रहेको मुलुकमा समस्या हल गर्न एउटा समावेशी लोकतन्त्रको आवश्यकता पर्ने रहेछ । समावेशी लोकतन्त्रलाई आत्मसात् गर्न सकियो भने मात्र नेपाली राष्ट्रियता सुदृढ हुन्छ ।’
उक्त पार्टीको घोषणापत्रमा नयाँ पार्टी गठनको आवश्यकलाई १० बुँदामा समेटिएको छ । मुलुकलाई बहुल राष्ट्रिय राज्यमा रूपान्तरित गर्न, समाजवाद स्थापना गर्न, नेपालको राष्ट्रियतालाई सौदाबाजी गर्ने राजनीतिक शक्तिलाई खबरदारी गर्न, गणतन्त्रात्मक राज्य व्यवस्था र शासन प्रणालीलाई संस्थागत गरी लोकतन्त्रलाई उच्चतम विकास गर्न, समानुपातिक निर्वाचन प्रणालीको प्रयोग, त्यसका आधारमा दलगत तथा समुदायगत प्रतिनिधित्व र समावेशी लोकतन्त्रको प्रारूपलाई व्यवहारमा उतार्न, शान्तिपूर्ण जनआन्दोलनको बाटो नै नेपालमा परिवर्तनको मूलबाटो हो भन्ने मान्यतालाई स्थापित गर्न नयाँ शक्ति आवश्यक भएको घोषणापत्रमा उल्लेख छ ।
‘पहिचानसहितको संघीयता भन्नुको अर्थ जातीय राज्य होइन, जातीय साझेदारी चाहेका हौँ,’ घोषणापत्रमा भनिएको छ, ‘वर्तमान राजनीतिक दलहरू यस काममा असफल भएको हुँदा राष्ट्रिय एकता, सबै जातिको सहअस्तित्व र सामाजिक सद्भावको अभिवृद्धिका लागि पनि नयाँ शक्ति आवश्यक छ ।’
उक्त पार्टीले नेपाली समाजको परिवर्तनको बाटो भनेर संघीय समाजवादलाई मार्गनिर्देशक सिद्धान्त बनाएको छ । संघीय समाजवादका विशेषतालाई २१ बुँदामा समेटिएको छ । उक्त पार्टीको झन्डा आधा रातो र आधा हरियो रंगमा तारा अंकित छ ।

“भाइ एमालेलाई समर्थन गर्न सकेनौँ”
पदमा विवाद होइन, सैद्धान्तिक असहमतिका कारण उहाँहरूको पार्टीमा हामी जान सकेनौँ । एमाले पार्टी परित्याग गर्ने नेताहरू नयाँ पार्टीलाई भाइ एमाले बनाउन लाग्नुभयो । माक्र्सवादलाई नै आधार बनाएर जान लाग्नुभयो । त्यसैले हामी माक्र्सवाद बोक्न सक्दैनौँ । त्यही भएर हामी त्यो पार्टीमा सामेल हुन सकेनौँ । माक्र्सवाद अटोक्रेटिक रुल हो । अवसर आउँदा उहाँहरू बहुदल मान्नुहुन्न । हामी मौका छोप्ने खालका होइनौँ । हामी छुट्टै पार्टी बनाउन लागिपरेका छौँ ।
कुमार राई
कांग्रेस त्यागेका नेता

प्रतिक्रिया