सरकारले फेरि ढाँटयो : कांग्रेस

काठमाडौं : सरकारले एकलौटी बजेट ल्याउनुका साथै र संविधानसभा चुनाव घोषणा गर्नुले राजनीतिक सहमति पछाडि धकेलिएको निष्कर्ष कांग्रेसले निकालेको छ ।
सरकारले मंगलबार अध्यादेशमार्फत बजेट ल्याएपछि बुधबार बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले सरकारको कदम प्रतिपक्षीलाई ढाँट्ने किसिमले आएको ठहर गरेको हो । निष्पक्ष चुनाव गराउन सहमतिको सरकार आवश्यक भएकाले दबाबका लागि सशक्त आन्दोलन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनले भने, ‘कानुन विधानमा व्यवस्था नै नगरी मंसिरमा चुनाव घोषणा गरेर ढाँटेको सरकारले पुन: चुनाव घोषणा गरेर ढाँटेको छ ।’
नेता केसीले एकलौटी बजेट र चुनाव घोषणा सत्ता टिकाउन मात्रै भएको बताए । सहमतिमै समस्या समाधान गर्न क्रियाशील रहेका बेला एमाओवादी एक्लै अघि बढेर सर्वसत्तावाद लाद्न खोजेकाले आन्दोलनको विकल्प नभएको उनको भनाइ थियो ।
‘यो प्रक्रिया घोर आपत्तिजनक छ । यो बजेटले अर्थतन्त्रका चुनौतीको सामना गर्नुको सट्टा जटिलता मात्र बढाएको छ । राजनीतिक सहमतिका आधारमा जनताका समस्या हल गर्ने बजेट ल्याउनुको सट्टा एकतर्फी रूपमा सरकारको स्वार्थपूर्ति मात्र गर्ने बजेट आएको छ । नेपाली कांग्रेस कामचलाउ सरकारको यस कार्यप्रति घोर भत्र्सना गर्छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । विनाआधार घोषणा गरिएको संविधानसभा चुनावको मिति ७ मंसिर सकिँदा सरकारको औचित्य अझ समाप्त भएको ठहर कांग्रेसले गरेको छ । (सौस)

प्रतिक्रिया