“सन्तोष पन्तका अगाडि थरथर कामेँ”

०५९ तिर होला, रेडियो पत्रकारका रूपमा काम गर्थें । रेडियोमा ‘काउसो’ नामक हास्य कार्यक्रम पनि चलाउँथेँ । हास्य कलाकारसँग अन्तर्वार्ता लिन्थेँ । एक दिन सन्तोष पन्त दाइको अन्तर्वार्ता लिन उहाँको घर गएँ । हिजोआजका कुरा कार्यक्रममार्फत सधैँ टेलिभिजनमा देखेको व्यक्तिसँग बोल्न पाउँदा ममा निकै फुर्ती आएको थियो । अन्तर्वार्ता सकाएर मौकाको फाइदा उठाउँदै उहाँलाई भनिहालेँ, ‘मलाई पनि टेलिशृंखला खेल्ने रहर छ, आफ्नो अनुहार टिभीमा देखाउने ठूलो धोको छ ।’ मैले नजिकैबाट आफ्नो कुरा राखे पनि उहाँले धेरैबाट छानिएर आउनुपर्ने जानकारी गराउनुभयो । म पनि शृंखला खेल्न लाइन लाग्नेको सूचीमा मिसिएँ ।
मसँगै लाइनमा पचास जनाजति थिए होलान् । पहिलो दिन छानिइनँ । फेरि दोस्रो दिन गएँ, फेरि छानिइनँ । तेस्रो, चौथो हुँदै सात दिन बिते तैपनि छानिइनँ । जे भए पनि मनले हरेस चाहिँ खाइनँ । लगातार लाइन बसी नै रहेँ । ६–७ हप्तापछि चारजना छनोट भए । बल्ल आएर मेरो नाम पनि छनोट हुनेमा परेछ । चौथो नम्बरमा परेछु । त्यसैले खेलाउने क्रममा पनि चौथो प्राथमिकतामा राखियो । पालो आउलाजस्तै लागेको थिएन । एक नम्बरमा पर्नेबाट अभिनय गराउने क्रम सुरु भएको थियो । तर, मभन्दा अगाडिको मान्छेले दिइएको डाइलग बिगारेको बिगार्‍यै गर्‍यो । त्यसैले पछाडिबाट मलाई बोलाएर अभिनय गर्न लगाइयो । म हौसिएर अगाडि बढेँ । त्यो अभिनय ग्रुपमा थियो । ग्रुपमा बोल्नेको मेकअप हुँदैनथ्यो । घरअगाडि उभिएर स्कुल ड्रेसमा अर्को साथी विद्यार्थीलाई ‘आइज ढुंगा हान्न जाऊँ’ भनेर बोलाउनुपर्ने थियो । त्यो डाइलग त्यति गाह्रो नभएकाले पहिलो टेकमै ओके भयो ।
एकैचोटि ओके भन्दा रमाइलो लाग्यो । आफूले गरेको अभिनय मिलेकोमा खुसीले दंगदास परेँ । त्यसअघि अभिनय प्रशिक्षण लिइसकेकाले मलाई सजिलो भएको थियो । तर, पहिलोचोटि क्यामराको अगाडि उभिएर अभिनय गर्नुपर्ने भएकाले होला, पन्त दाइले क्यामरा मतिर फोकस गरेर एक्सन भन्दा मेरो खुट्टा थरथरी काँम्न थालेको थियो । सातो उड्यो, मनमा अनेक तरंग चले– ‘बिग्रियो भने के गर्ने, फेरि चान्स पाइने हो कि होइन †’ क्यामेराअगाडि पहिलोचोटि अभिनय गर्दा यी कुरा सामान्य नै हुन् । त्यस्तो अवस्थाबाट एकैचोटि टेक ओके हुँदा खुसीको सिमानै रहेन । त्यहीबेला युनिटबाट एक छिन् छुट्टिएर नजिकको पसलमा गएँ, अनि घरमा फोन गरेँ । श्रीमतीलाई सुनाएँ । श्रीमती पनि निकै खुसी भइन् । भनिन्, ‘टिभीमा आउँछ होइन ? सँग बसेर हेर्नुपर्छ ।’ चिनेजानेका मान्छेमध्ये नम्बरका भएकाजतिलाई फोनबाट र अरूलाई भ्याएसम्म भेटेर यो कुरा सुनाएँ । हिजोआजका कुरामा मेरो अनुहार आउँछ, हेर्नू है भनेर हल्ला गर्दै हिँडेँ ।
कार्यक्रम आउने दिन म र श्रीमती टिभी हेर्न बस्याँै । म त्यतिबेला डेरामा बस्थेँ । अरू कोठाका मान्छेलाई पनि कार्यक्रम आउनुअगावै हल्लाखल्ला गरेर टिभी हेर्न लगाएको थिएँ । कार्यक्रम सुरु भयो । त्यहीबेला भान्सामा तरकारी डढेको बासना आयो । श्रीमती भान्सामा तरकारी हेर्न गइन् । त्यहीबेला मैले अभिनय गरेको रोल आयो । चिच्याएर श्रीमतीलाई बोलाएँ । उनी पनि तरकारी चलाउँदै गरेको डाडु हातैमा बोकेर दौडिइछन् । तर, उनी आउँदा मेरो भूमिका सकिइसकेको थियो । जम्मा एक सिन मात्र न थियो ।
टिभीमा पहिलोपटक आफ्नो अनुहार देख्दा खासै फरक लागेन । भोलिपल्ट साथीहरूले ‘राम्रो छ फेरि गर्नु’ भने । त्यसपछि म रेगुलरजसो शृंखला सुटिङ हुने ठाउँमा जान थालँे तर अभिनय गर्न पाइनँ । म जसरी नै कुरेर बस्ने त्यहाँ तीस–पैतीस हुन्थे । नपाएपछि सन्तोष दाइलाई सराप्दै फर्कनेको हुलमा मिसिएर केही वरसम्म आउँथेँ । उनीहरू गइसकेपछि म चाहिँ चान्स पाइएला कि भनेर फेरि सुटिङ भएकै ठाउँतिर फर्कन्थेँ । यो क्रम महिनौँ चल्यो । न म त्यहाँ जान छाडेँ न त अभिनयको मौका पाएँ । महिनौँ दिनको ढुकाइपछि सन्तोष पन्त दाइको नजरमा एकचोटि फेरि परेँ म । अभिनय गर्न पाएँ । त्यसपछि सानोतिनो भूमिकाबाटै भए पनि अभिनय केही निरन्तरता भने हुन थाल्यो ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया