मंसिर–७ भित्र सहमति बनाउँन समयसीमा

काठमाडौं, ४ मंसिर । राष्ट्रपति डा.रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुलाई मंसिर–७ गते भित्र निर्वाचनलगायतका विषयमा सहमति बनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईसहित एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चासँग शीतल निवासमा आज भएको छलफलमा डा.यादवले मंसिर–७ गतेको समयसीमा तोकेर सहमति बनाउन सुझाव दिएका हुन् ।
डा.यादवले मंसिर–७ गते सम्म दलहरुका बीच सहमति बन्न नसके आफूले सहमतीय सरकारका लागि आह्वान गर्ने जानकारी गराएको मधेसी मोर्चाका नेता विजय गच्छेदारले बताए ।
राष्ट्रपति डा.यादवलाई उदृत गर्दै गच्छेदारले भने, ‘राष्ट्रपतिजीले मंसिर–७ गते सम्म निर्वाचनलगायतका विषयमा सहमति गर्न नसके सहमतीय सरकारका लागि आह्वान गर्छु भन्नु भएको छ ।’
कांग्रेस सभापति सुशील कोइरालाले मुलुकको निकासका लागि सहमतीय सरकारको विकल्प नरहेको बताए । उनले आफूहरु निर्वाचन, बजेट र सहमतिको सरकार बनाउन सकारात्मक रहेको बताए ।
एमाले अध्यक्ष झलनाथ खनालले पनि मुलुकलाई निकास दिन र निर्वाचनका लागि पनि सहमति आवश्यक रहेको बताए । उनले सहमतीय सरकारका लागि वर्तमान सरकारको वहिर्गमन अनिर्वाय रहेको उल्लेख गरे ।
दैनिक सरह प्रमुख चार दलसँग परामर्श गर्दै आएका राष्ट्रपति डा.यादवले प्रधानमन्त्री भट्टराईलगायत एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेतासँग परामर्श गरी सहमतिका लागि समयसीमा तोकिदिएका हुन् ।

प्रतिक्रिया