काठमाडौं : एमाले भगिनी संगठन अखिल नेपाल महिला संघले महिला हिंसाविरुद्ध एकमहिने अभियान सञ्चालन गर्ने भएको छ । महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शनिबार पत्रकार सम्मेलन गरी संघले उपत्यकामा मंगलबार जोरपार्टीबाट र तराईमा छठ पर्वपछि घरदैलो अभियान सुरु हुने जनाएको हो ।
बोक्सी आरोप, बालविवाह, बहुविवाह, अनमेल विवाह, दाइजो तथा तिलकप्रथा, छाउपडी र महिला बेचबिखनविरुद्ध घरदैलो अभियान चलाउन एकमहिने कार्यक्रम तय गरिएको संघले जनाएको छ । अभियानअन्तर्गत सबै जिल्लामा सबै घरदैलोमा पुग्ने र महिला हिंसाविरुद्ध जनचेतना जगाउने कार्यक्रम छ ।
बृहत जनजागरण अभियान नाम दिइएको उक्त अभियानमा हिंसापीडित महिलालाई घरघरमै भेटी कानुनी उपचार र अन्य सामाजिक सुरक्षा प्रक्रियाबारे छलफल गर्ने योजना रहेको संघले जनाएको छ । ‘एक महिनाको साटो अरू धेरै महिना लागे पनि हामी देशभर सबैको घरदैलोमा पुग्छौँ,’ संघकी अध्यक्ष तथा एमाले उपाध्यक्ष विद्या भण्डारीले भनिन्, ‘सामाजिक कुरीति र महिला हिंसाविरुद्धको यो महाअभियान जारी रहनेछ ।’ (सौस)
प्रतिक्रिया