गाई र गोरुको पूजा गरीदै

काठमाडौं, २९ कात्तिक । हिन्दूहरुको महान पर्व तिहारको चौथो दिन आज गाई र गोरुको पुजा गरेर मनाईदै छ ।
परम्पराअनुसार आजका दिन गाई पूजा, गोरु पूजा र नेवार समूदायमा म्हःपूजा गरिन्छ । गाईलाई लक्ष्मीको प्रतीकका रूपमा सिंगखुरमा तेल र जीउमा रातो पहेंलो छाप लगाई पूजा गर्ने परम्परा छ । वर्षभरि हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ ।
उता, आजै नेवार समुदायमा म्हःपूजा गरिदैछ । साँझ परिवारका सम्पूर्ण सदस्य बसी म्हःपूजा अर्थात आत्मपूजा गर्ने चलन छ । आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासमा पूजा गरिँदै आएको परम्परा छ ।
आजकै दिनदेखि नेवार समुदायको नेपाल संवत अर्थात नयाँ वर्ष प्रारम्भ हुन्छ । लिच्छवी राजा राघवदेवको पालामा शंखधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत शुरु गरेको तथा सोही दिनदेखि नेपाल संवत मनाउने गरिएको मान्यता छ ।
नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको देश र जनताप्रतिको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारले विक्रम संवत २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रतिक्रिया