ग्यासको भाउ बढाउने तयारी

काठमाडौं, २६ कात्तिक । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य बढाउने तयारी गरेको छ । ग्यास र डिजेलमा भएको घाटाका कारण मासिक नोक्सानीमा कमी आउन नसकेपछि निगम ग्यासमा मूल्य वृद्धि गर्ने तयारीमा
जुटेको हो ।
निगम स्रोतका अनुसार दुईथरी सिलिन्डर लागू गरी विद्यार्थीलाई सहुलियतको व्यवस्थासँगै मूल्य वृद्धिको तयारी सुरु भएको छ । तर, प्रतिसिलिन्डर कति रुपियाँ मूल्य वृद्धि गर्ने भन्नेमा अहिले छलफल भइरहेको स्रोतको दाबी छ ।
घरायसी र व्यावसायिक प्रयोजनका लागि खपत हुने सिलिन्डरको रङ फरक/फरक बनाएर सहुलियतको व्यवस्था भएपछि मूल्य बढाउने निष्कर्षमा निगम पुगेको हो । यसले अहिले भइरहेको घाटामा कमी आउने निगमको दाबी छ । अन्तर्राष्ट्रिय बजार मूल्यका कारण ग्यासमा घाटा बढ्दै गएकाले निगमले मूल्य वृद्धि विकल्पको रूपमा अघि सारेको हो ।
‘अन्तर्राष्ट्रिय बजारमूल्यअनुसार ग्यासमा घाटा बढ्दै गएको छ,’ निगमका प्रवक्ता मुकुन्द ढुंगेलले भने, ‘घरायसी र व्यावसायिक प्रयोजनमा खपत हुने ग्यासको सिलिन्डर फरक/फरक बनाएर सहुलियतको व्यवस्था गरी मूल्य निर्धारण गर्नुबाहेक निगमसँग अर्को विकल्प छैन ।’ उनले सहुलियत पाउनेलाई परल मूल्यमै ग्यास उपलब्ध हुने समेतबताए । यद्यपि तिहार र छठ पर्वअघि भने मूल्य निर्धारण नहुने निगमले जनाएको छ ।
भारतीय आयल निगम
(आइओसी) ले एक नोभेम्बरमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमको कुल घाटामा केही कमी आए पनि एलपी ग्यास र डिजेलमा भइरहेको नोक्सानी नघटेपछि मूल्यवृद्धिलाई विकल्प बनाएर निगम आवश्यक गृहकार्यमा जुटेको जनाइएको छ । निगमका अनुसार अहिले ग्यासमा प्रतिसिलिन्डर ५ सय ८ रुपियाँ ९३ पैसा घाटा छ । यो घाटा कम गर्ने एउटै विकल्प मूल्य वृद्धि भएको निगम अधिकारीको तर्क छ ।
अत्यावश्यक वस्तुका रूपमा रहेको एलपी ग्यास र डिजेलमा मात्र निगमलाई अहिले ८१ करोडभन्दा बढी मासिक नोक्सानी रहेको जनाउँदै आएको छ । पटकपटक मूल्य वृद्धि गरे पनि निगमले ग्यास र डिजेलमा घाटा कम गर्न नसक्दा अहिले ८१ करोड ५४ लाख मासिक नोक्सानी बेहोरी रहेको जनाएको छ ।
भारतीय आयल निगम (आइओसी) ले एक नोभेम्बरमा पठाएको मूल्यसूचीअनुसार एलपी ग्यासमा मात्र निगमलाई ६१ करोड ७ लाख रुपियाँ मासिक नोक्सानी छ । यस्तै, डिजेलमा २० करोड ४७ लाख घाटा रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्य गिरावटले निगमको मासिक घाटा ३१ करोड ४९ लाखमा झरे पनि एलपी ग्यास र डिजेलमा भने अझै कमी आउन नसकेको निगमका प्रवक्ता ढुंगेल बताउँछन् ।
निगमले घाटामा समेत कमी ल्याउन केही नयाँ योजना आवश्यक भएको पेट्रोल, मट्टीतेल र हवाई इन्धनको खपत बढाएर त्यसैबाट ग्यास र डिजेलको घाटा पूर्ति गर्ने योजना विकल्प रहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले निगमको मासिक घाटामा कमी आएपछि अहिले पेट्रोलमा २० करोड २७ लाख, मट्टीतेलमा चार करोड ३० लाख, आन्तरिक उडानको हवाई इन्धनमा सात करोड १७ लाख र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा १८ करोड ३० लाख रुपियाँ कुल नाफा रहेको छ ।
यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र नेपाली बजारमा भएको मूल्य वृद्धिले गत जुलाईमा करिब चार वर्षपछि पहिलोपटक निगम नाफामा आएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा क्रमश: मूल्य वृद्धि हँुदै गएपछि त्यो नाफा टिकाइरहन भने निगमले सकेन । जुलाईमा निगमलाई १३ करोड ११ लाख मासिक नाफा भएको थियो । आर्थिक वर्ष ०६५/६६ पछि निगम नाफामा आएको यो नै पहिलोपटक थियो ।
े तयारी

प्रतिक्रिया