डेरा सार्न भट्टराईलाई नेपालको सझाव

नुवाकोट, २४ कात्तिक । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार नहटेसम्म राष्ट्रले कुनै राजनीतिक निकास पाउन नसक्ने बताएका छन् । उनले प्रधानमन्त्री बाबुराम भट्टराईको कुर्सी मोहका कारण राजनीतिक सहमति हुन नसकेको बताए ।
प्रेस चौतारी नुवाकोटले आज सदरमुकाम विदुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले भने, ‘प्रधानमन्त्री बाबुराम भट्टराईले सहमति लत्याउँदै हिडेका छन ।’
भट्टराईले प्रधानमन्त्री पदको मर्यादा समेत विर्सिएर सत्ताको दुरुपयोग गरी ‘कोटरी’ सञ्चालन गरिरहेको आरोप समेत उनले लगाए ।
एमाओवादीले सबै संयन्त्र प्रयोगसहित राष्ट्रपतिलाई बदनाम गरी आफू अनुकुल चल्न बार्गेनिङ गरिरहेको नेता नेपालको भनाई थियो ।
‘राष्ट्रपतिका साथ देशका सबै लोकतान्त्रिक शक्तिहरु छन्,’ उनले भने, ‘कानून र सहमति विपरित एमाओवादीको दवावमा राष्ट्रपतिले कुनै पनि निर्णय गर्नु हुँदैन ।’
उनले व्यापारीको सानो झुण्डसमेत बजेट आउनुपर्ने नाममा एमाओवादीको पक्षपोषण गर्दै हिडेकोमा आक्रोश पोखे ।
हठात रुपमा निर्वाचन घोषणा गरी निर्वाचन गर्न असमर्थ भईसकेका भट्टराई बालुवाटार छोडेर आफ्नै डेरातिर लाग्न नेपालले सुझाव दिए । ‘संवैधानिक र नैतिक दुवै रुपमा पदमुक्त भईसकेका व्यक्तिले पद नछाड्नु आश्चर्यको विषय भएको छ,’ नेता नेपालले भने ।

प्रतिक्रिया