दुल्लु दरबार खण्डहर

दैलेख, २४ कात्तिक । पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक दुल्लु दरबार खण्डहरमा परिणत भएको छ । द्वन्द्वकालमा माओवादी कार्यकर्ताले दुस्मनलाई बस्न दिएको आरोप लगाउँदै २८ वैशाख ०५९ मा बम विस्फोट गरेर दरबारमा क्षति पुर्‍याएका थिए । दरबार त्यसयता पुन: निर्माण भएको छैन ।

‘एउटा इतिहास थियो, आउने सन्ततिका लागि दरबारले के बिगारेको थियो र ?’ स्थानीय एमाले नेता तिलक रिजालले भने, ‘माओवादीले ऐतिहासिक सम्पत्तिको महत्त्व बुझेनन् ।’ बाइसे–चौबीसे राज्य कालका अन्तिम राजा जंगबहादुर शाहसँग जोडिएको दरबार पुनर्निर्माण गर्न स्थानीयले माग गरेका छन् । शाहका परिवार काठमाडौंमा नै बस्ने भएकाले दरबार पुनर्निर्माण नभएको बताइएको छ ।
जंगबहादुरका माइला छोरा नेपाली सेनाका पूर्वजर्नेल दीप्तप्रकाश शाहले दैलेखी जनताको सम्पत्ति भएकाले दरबारको पुनर्निर्माण राज्यले गर्नुपर्ने बताए । व्यक्तिका नाममा रहेकाले पुरातात्त्विक विभागले निर्माण गर्न नमिल्ने बताउँदै आएको छ ।
शान्ति मन्त्रालयले दरबारसँगै रहेको कालिकादेवीको मन्दिर पुनर्निर्माण गरे पनि दुल्लु दरबारको पुनर्निर्माणमा सहयोग गरेको छैन । शाहले जिल्ला विकास समितिले पनि दरबार पुनर्निर्माणका लागि पहल गर्नुपर्ने बताए ।
बाइसे–चौबीसे राज्यकालमा हिउँदमा दुल्लु र गर्मीमा सिँजामा राज्य सञ्चालन हुँदै आएको थियो । दुल्लु राज्य सञ्चालनका लागि सन् १९७८ मा काठमाडौंबाट आएका विदेशी डकर्मीले दुई वर्ष लगाएर सन् १९८० मा तीन तले दुल्लु दरबार निर्माण गरेका थिए ।
बाइसे–चौबीसे राज्य कालका अन्तिम राजा जंगबहादुर शाहले दुल्लु दरबार बनाएका हुन् । दरबारको झ्यालमा कलात्मक बुट्टा कुँदेर बनाइको थियो भने दुल्लुमा नै निर्माण गरिएका इँटा र माटोका टायलले दरबार छाइएको थियो । मासको गारो लगाइएको दरबार जिल्लाकै ऐतिहासिक धरोहर हो । दरबारमा १८ कोठा ३६ झ्याल थिए ।
धार्मिक तथा पर्यटकीय स्थलका रूपले प्रचलित दुल्लु खण्डमा नेपाली भाषाको पहिलो शिलालेख, पाँच पाण्डवले निर्माण गरेको पाथरनाउलीलगायत पर्यटकीय स्थल ओझेलमा परेका छन् । दैलेखमा बाइसे चौबीसे राज्यकालमा बेलासपुर राज्य र दुल्लु राज्य गरी दुईवटा राज्य सञ्चालनमा रहे पनि दुल्लु राज्य चर्चित र बेग्लै राज्यको रूपमा चिनिँदै आएको इतिहास छ ।

प्रतिक्रिया