‘जालझेल गरेर सत्ता लम्बाउने षड्यन्त्र’

काठमाडौं, २३ कात्तिक । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले एमाओवादी नेतृत्वको गठबन्ध सरकारले सहमति गर्ने भन्दा पनि विपक्षी दलहरुलाई जालझेल गरेर झुक्काई सत्ता लम्बाउने रणनीतिमा लागेको आरोप लगाएका छन् ।
काठमाडौं क्षेत्र नम्वर सातमा आज विहान कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय सहमति गरेर पूर्ण बजेटसहित नयाँ निर्वाचनमा जानुको साटो जालझेलको षड्यन्त्रमा लागेको आरोप लगाए । उनले एमाओवादीको षड्यन्त्रका कारण मुलुक संकट तर्फ धकेलिएको बताए ।
‘विपक्षी दलहरुलाई जालझेल गरेर एमाओवादी अनन्तकाल सम्म सत्ता लम्बाउन चाहन्छ,’ उनले भने, ‘एमाओवादीले राज्य सत्ता र संयन्त्रको चरम दुरुपयोग गरेर विपक्षी र राष्ट्रपतिलाई धम्काउन खोजेको छ ।’ उनले एमाओवादीको धम्कीले कांग्रेस लोकतन्त्रको रक्षाका लागि पछाडि नहट्ने बताए ।
आफ्ना कार्यकर्तालाई रकम मात्रै बाँड्ने गरेको आरोप लगाएका महामन्त्री सिंहले मुलुकलाई सहि राजनीतिक बाटोमा ल्याउन शुक्रबारदेखि कांग्रेसले आन्दोलनको शुरुवात गर्ने बताए । उनले भने, ‘अब वर्तमान असंवैधानिक सरकारलाई हटाएर लोकतन्त्रको संरक्षणका लागि कांग्रेसले सडक आन्दोलन गर्छ ।’

प्रतिक्रिया