काठमाडौं, २१ कात्तिक । सरकारले पूर्ण बजेटको तयारी तिब्र बनाए लगत्तै दुई विपक्षी दल कांग्रेस र एमालेले सहमति विना आउने बजेटलाई आफूहरुले अस्वीकार गर्ने निर्णय गरेका छन् ।
एमाले पार्टी कार्यालय बल्खुमा आज बसेको कांग्रेस–एमालेको बैठकले राजनीतिक सहमतिमा बजेट ल्याउन सरकारलाई सुझाव दिए । उनीहरुले पूर्ण बजेटका लागि राजनीतिक सहमति अनिर्वाय रहेको समेत उल्लेख गरेका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमति विना आउने बजेटलाई आफूहरुले नमान्ने सहमति भएको बताए । उनले भने, ‘संसद नभएका बेला राजनीतिक सहमति विपरित सरकारले बजेट ल्याउन सक्दैन ।’
त्यसै गरेर सरकार विरुद्धको आन्दोलन चर्काउने तयारीका लागि कांग्रेस र एमालेले बिहीबार विपक्षी दलहरुको संयुक्त बैठक बोलाउने निर्णय गरेका छन् । पर्सी बिहीबार बस्ने संयुक्त बैठकले आन्दोलनको तयारी गर्ने पौडेलले बताए ।
एमाले नेता रघुजी पन्तले राजनीतिक सहमति विना सरकारलाई पूर्ण बजेट ल्याउन नदिने सहमति भएको जानकारी दिए । उनले त्यसका लागि राष्ट्रपतिलाई आग्रह गर्ने बताए ।
सरकारले तिहार अगावै अध्यादेशबाट पूर्ण बजेट ल्याउने तयारी गरे पछि दुई ठूला विपक्षी दल कांग्रेस र एमालेले एकै स्वरमा विरोध गर्ने निर्णय गरेका हुन् । विपक्षी दलहरुको निर्णयले सरकारलाई पूर्ण बजेट ल्याउन असजिलो हुने भएको छ ।
प्रतिक्रिया