राष्ट्रपतिमा पूर्वराजाको हस्को : एमाओवादी

काठमाडौं, १९ कात्तिक । एमाओवादीले राष्ट्रपति डा. रामवरण यादवका पछिल्ला अभिव्यक्तिमा पूर्वराजा ज्ञानेन्द्र शाहको ‘हस्को’ आएको बताएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले नियमित पत्रकार भेटमा आइतबार राष्ट्रपति अधिकारबाहिर गएर चिन्तित भएको भन्दै उनीबाट पूर्वराजाको जस्तै अभिव्यक्ति आएको बताए ।
‘राष्ट्रपति दलहरूसँगको भेटमा सहमतिको मिति तोक्नुस् भन्नुहुन्छ, कहिले दलहरूले सहमति गरेपछि पुन:स्थापना मान्दिनँ भन्नुहुन्छ, कहिले राणाकालमा जस्तो खोपीको राजा भएर बस्दिनँ भन्नुहुन्छ,’ प्रवक्ता सापकोटाले भने, ‘राष्ट्रपतिको अभिव्यक्तिमा ‘दाजु वीरेन्द्रले जस्तो टुलुटुलु हेरेर बस्दिनँ’ भन्ने ज्ञानेन्द्रको जस्तै हस्को आएको छ ।’
राष्ट्रपतिले नेताहरूसँगको पछिल्लो भेटमा राजनीतिक सहमति भए पनि संविधानसभा पुन:स्थापना स्वीकार गर्न नसक्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै सापकोटाले त्यस्तो अभिव्यक्तिले दलहरूबीच सहमति नहोस् भन्ने चाहना झल्काउने जिकिर गरे । ‘वर्तमान सरकार नै संवैधानिक सरकार हो, राष्ट्रपतिले अनावश्यक चिन्ता लिनुपर्दैन,’ उनले भने ।
दलहरूबीच अनौपचारिक छलफल भइरहेको उल्लेख गर्दै उनले कांग्रेस–एमालेको प्रधानमन्त्री उम्मेदवारको कुरा उनीहरुको नेतृत्वमा चुनावमा जानका लागि नउठाइएको बताए । ‘वार्ताका क्रममा डा. बाबुराम भट्टराई नेतृत्वको सरकार परिवर्तन गर्ने कुरामा मात्रै अध्यक्ष प्रचण्डले त्यसो भए कांग्रेस–एमालेको उम्मेदवार को त ? भनेर सोध्नुभएको हो,’ उनले भने, ‘बरु यही सरकारलाई राष्ट्रिय स्वरूप दिँदा कांग्रेस–एमालेलाई रोजेको मन्त्रालय दिन सकिन्छ ।’
कांग्रेस–एमालेले सरकार परिवर्तनको विषय मात्रै उठाएको जानकारी दिँदै उनले संविधानका विषयमा सहमतिका अरू विकल्प प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे ।
‘बजेटमा राष्ट्रपतिको परीक्षा’
एमाओवादीले बजेटको सन्दर्भमा ‘राष्ट्रपतिको परीक्षा हुने’ जनाएको छ । संसद्मा अवरोध भएपछि माधव नेपाल नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको सन्दर्भमा वर्तमान सरकारले संसद् नै नभएका बेला प्रस्तुत गरेको बजेट स्वीकृत नगरे राष्ट्रपतिविरुद्ध आन्दोलन गर्ने चेतावनी एमाओवादीले दिएको छ । ‘संसद् भएको बेला समेत अध्यादेशमार्फत ल्याइएको बजेट स्वीकृत भएको थियो, संसद् नै नभएको बेला सिफारिस गरिएको बजेट स्वीकृत हुन्छ कि हुँदैन राष्ट्रपतिको समेत परीक्षा हुन्छ,’ प्रवक्ता सापकोटाले भने, ‘बजेट स्वीकृत नभए राजनीतिक सहमतिका लागि स्थगित गरिएको जनपरिचालनका कार्यक्रम पुन: सुचारु हुन्छ ।’

हल्लाको पछि नलाग्न दाहाललाई राष्ट्रपतिको आग्रह
काठमाडौं : राष्ट्रपति डा. रामवरण यादवले आफू राजनीतिक दलहरूको सहमतिबमोजिम नै चल्ने बताएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आइतबार भएको भेटमा राष्ट्रपति डा. यादवले दलहरूको सहमतिविना कुनै कदम चाल्ने सोच नभएको स्पष्ट पारेका हुन् । राष्ट्रपतिले दाहालले हल्लाको पछि नलाग्न आग्रह गरेका थिए ।
राष्ट्रपतिले दलहरूले गर्ने जुनसुकै सहमति आफूलाई मान्य हुने बताएको उल्लेख गर्दै अध्यक्ष दाहालले सञ्चारकर्मीलाई राष्ट्रपतिसँग खुलेर कुराकानी भएको जानकारी दिए । ‘राष्ट्रपतिमा राजनीतिक कदम चाल्ने मनसाय पाइएन । उहाँ दलहरूबीच चाँडै सहमति होस् भन्ने पक्षमा हुनुहुन्छ,’ दाहालले भने ।
विघटित संविधानसभाको ठूलो दलको नेताको हैसियतमा वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रभावकारी भूमिका निर्वाह गर्न राष्ट्रपतिले आग्रह गरेको उनले बताए । भने, ‘राष्ट्रपतिले बाहिरको हल्लाको पछि नलाग्न भन्नुभयो ।’ भेटवार्तामा राजनीतिक गतिरोधको निकास र बजेटका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया