दैनिक लाखौँको काठ तस्करी

राजविराज, २० कात्तिक । उदयपुर जिल्लाका पूर्वी गाविसहरूबाट दैनिक लाखौँको काठ तस्करी भइरहेको छ । वन कार्यालय र प्रशासनको बेवास्ताका कारण सप्तकोसी नदी हुँदै कोसी ब्यारेज नाकाबाट काठ भारत निकासी भइरहेको हो ।

काठ तस्करीमा संलग्न व्यक्तिहरूले जंगलमा काटेको काठ सप्तकोसी नदीमा तैर्‍याएर कोसी ब्यारेजसम्म पुर्‍याउने गरेका छन् । कोसी ब्यारेजअन्तर्गत सप्तरीको भारदह आसपासमा निकालिने लाखौँ रुपियाँ बराबरको काठ रिक्सा तथा ट्रयाक्टरका माद्यमबाट भारतका भीमनगर, वीरपुर, रानीगन्ज कुनौली, निर्मली, सिम्रहीलगायत स्थानमा निकासी हुने गरेको स्थानीयले जानकारी दिएका छन् । तस्करी भइरहेको काठ उदयपुरका पूर्वी गाविसहरू मैनामैनी, तपेश्वरी, चौदण्डी, सिद्धिपुर, हडिया, बसाहा, सुन्दरपुर, साउने, जोगीदह, बेल्टार, रामपुर ठोक्सिला, बबला, खाबुलगायत गाविसबाट निकालिने गरेको स्थानीयको भनाइ छ । जसमध्ये जोगीदह, हडिया, सुन्दरपुरलगायत केही गाविसको काठ चुरे क्षेत्र हुँदै सप्तरीको महुली, कठौना, कुसाहा, मोहनपुर, कल्याणपुरलगायत नाका हुँदै निकासी हुने गरेको छ । अन्य गाविसको काठ कोसी ब्यारेज हुँदै निकासी हुने गरेको स्थानीयवासी बताउँछन् ।
सरकारी तथा सामुदायिक वनमार्फत तीव्र रूपमा काठ तस्करी हुँदासमेत त्यसको नियन्त्रणका लागि हालसम्म कुनै निकायले पहल नगरेको स्थानीयको आरोप छ । वन कर्मचारी, वन्यजन्तु आरक्ष तथा प्रहरी प्रशासनसमेत मूकदर्शक भएका कारण काठ तस्करलाई प्रोत्साहन मिलेको कोसी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले बताए । यस विषयमा दुई वर्षअघिसम्म कोसी ब्यारेज क्षेत्रमा जिल्ला वन कार्यालय सप्तरीले गस्ती गर्ने गरेको जानकारी दिँदै मध्यवर्ती क्षेत्रको व्यवस्था गरिएपछि मन्त्रालयले नै उक्त क्षेत्रको जिम्मा कोसी टप्पु वन्यजन्तु आरक्षलाई दिएकाले काठ तस्करी नियन्त्रणमा उदयपुर जिल्ला वन कार्यालय र कोसी टप्पु वन्यजन्तु आरक्षले चासो दिनुपर्ने जिल्ला वन अधिकृत (डिएफओ) सुरेन्द्रलाल कर्णले बताएका छन् ।
पूर्वाञ्चल क्षेत्रीय वन निर्देशक मोहन कोइरालाको संयोजनमा कोसी टप्पु वन्यजन्तु आरक्षका वार्डेनको नेतृत्वमा सप्तरी, सुनसरी र उदयपुर जिल्ला वन कार्यालयको टोलीले सामूहिक गस्ती गर्ने सहमति भएको डिएफओ कर्णले बताए । चुरे वनमार्फत सप्तरीका विभिन्न नाका हँुदै बढेको तस्करीका विषयमा भने आफूहरूसँग पर्याप्त सेवासुविधा नभएका कारण नियन्त्रण हुन नसकेको उनले स्विकारे । यता कोसी टप्पु वन्यजन्तु आरक्षका वार्डेन राजेन्द्र ढुंगानाले आफू भर्खरै सरुवा भएर आएकाले वस्तुस्थिति बुझिरहेको जनाएका छन् । दिउँसो नभएर रातको समयमा काठ तस्करी भइरहेको जानकारी पाएपछि आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनासँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको उनले बताए । आफ्नो एक्लो प्रयासले त्यसको रोकथाम गर्न नसक्ने भएकाले सम्बन्धित उदयपुर, सप्तरी र सुनसरी जिल्ला वन कार्यालयले समेत आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया