दाहालले मागे प्रधानमन्त्रीको उम्मेदवार

 

 

काठमाडौं, १८ कात्तिक । संविधानसभाको नयाँ चुनाव गर्नुपर्ने निष्कर्षमा पुगे पनि प्रमुख दलहरू सरकारको नेतृत्व विवादमा अल्झिएका छन् ।
राष्ट्रपतिले शुक्रबार बिहान तत्काल राजनीतिक गतिरोधको निकास दिन ताकेता गरेपछि बसेको प्रमुख चार शक्तिको बैठकमा पनि चुनावी सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सहमति जुट्न नसकेको हो । नयाँ चुनाव आगामी वैशाखमा गर्न सहमतिनजिक पुगे पनि चुनाव गराउनका लागि सहमतीय सरकार कसको नेतृत्वमा गठन गर्ने भन्नेमा दलहरूबीच हानथाप चलिरहेको छ । शुक्रबारको बैठकमा सत्तारूढ गठबन्धनका तर्फबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको डा. बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव विपक्षी कांग्रेस–एमालेले अस्वीकार गरेका थिए । उक्त प्रस्तावमा सहमति नजुटेपछि दाहालले प्रधानमन्त्रीको उम्मेदवार मागेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।

‘हामीले राखेको प्रस्तावलाई उहाँहरूले स्वीकार पनि गर्नुभएन, अस्वीकार पनि गर्नुभएन,’ उपसभापति पौडेलले भने ‘प्रचण्डजीले सहमतिको प्रस्ताव र प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्न भन्नुभएको छ ।’
कांग्रेस–एमालेले वर्तमान सरकारको राजीनामापछि बन्ने कांग्रेस नेतृत्वको सहमतीय सरकारले चुनाव गर्ने र त्यही सरकारले बजेट ल्याउनुपर्ने प्रस्ताव गरेका थिए । पौडेलका अनुसार प्रधानमन्त्री डा. भट्टराईले दलहरूबीच सहमति भए आफू पद त्याग्न तयार रहेको बताएका थिए ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वैशाखमा चुनाव गर्ने र प्रत्यक्षतर्फ २ सय ४० सिट हुनेमा लगभग सहमति भएको जानकारी दिए । ‘समानुपातिकतर्फको सिट, संविधान संशोधन प्रक्रिया र राष्ट्रिय सरकारको नेतृत्वको विषयमा कुरा मिल्न सकेन,’ उपाध्यक्ष श्रेष्ठले भने ।
ललितपुरको सुनाकोठीस्थित एमाओवादीनिकट नीरज गोविन्द श्रेष्ठको घरमा मधेसी मोर्चासहित बसेको एमाओवादी, कांग्रेस र एमालेको बैठकमा दाहाल नेतृत्वको संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन र कांग्रेस–एमालेका तर्फबाट छुट्टाछुट्टै प्रस्ताव पेस गरिएको थियो । बैठकमा दाहालले पहिलेकै तीनबुँदे प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमा संविधानसभा पुन:स्थापना गर्ने वा वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको राष्ट्रिय सरकारले नयाँ चुनाव गर्ने वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गरी चुनाव गर्ने तीन विकल्प छन् । दाहालले तीनबँुदे प्रस्ताव यसअघि नै लिखित रूपमा विपक्षी दलहरूलाई दिएका थिए । उनले आफूले गरेजस्तै सहमतिका विकल्प प्रस्ताव गर्न विपक्षीलाई आग्रह गरेका थिए ।
‘बैठक मात्रै बसेर हुँदैन छिट्टै सहमति गर्नुपर्‍यो भन्नेमा हामीले ध्यानाकर्षण गरायौँ,’ एमाले नेता भीम रावलले भने, ‘अब शीर्ष नेताहरूबीच अनौपचारिक छलफल पनि हुन्छ, हामी पनि लिखित रूपमै सहमतिका लागि विकल्प राख्छौँ, छिट्टै लिखित प्रस्तावमा छलफल हुन्छ ।’ बैठकमा सत्तारूढ दलहरूले तत्काल बजेट ल्याउनुपर्ने भन्दै त्यसबारे सहमति जुटाउन आग्रह गरेका थिए । विपक्षीले भने बजेट आर्थिक विषय मात्रै नभई राजनीतिक दस्ताबेज पनि भएकाले अब बन्ने राष्ट्रिय सरकारले मात्रै बजेट ल्याउनुपर्ने अडान राखेका थिए ।

प्रतिक्रिया