ओली अस्पताल भर्ना

काठमाडौं : एमाले नेता केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बुधबार मात्रै स्वदेश फर्केका नेता ओलीलाई ज्वरो बढेपछि शुक्रबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
स्वदेश फर्केदेखि नै खोकी र ज्वरोले ग्रस्त बनाएपछि ओली राजनीतिक दलहरूको बैठकमा समेत सहभागी नभई घरमै आराम गरिरहेका थिए । ज्वरो बढेपछि उनलाई बिहान उपचारका लागि ब्लुबर्ड क्लिनिकमा लगिएको थियो । उनको छातीमा इन्फेक्सन देखिएको र स्लाइनबाट औषधि दिनुपर्ने भएकाले दिउँसो नर्भिकमा भर्ना गरिएको सहयोगी श्रीराम बजगाईंले बताए । साँझसम्ममा उनको स्वास्थ्य अवस्था सामान्य रहेको बजगाईंले जानकारी गराए ।
एसियाली तथा ल्याटिन अमेरिकी राजनीतिक दलहरूको सम्मेलनमा भाग लिएर मेक्सिकोबाट फर्कने क्रममा बिरामी भएपछि ओलीलाई न्युयोर्कस्थित अस्पतालमा भर्ना गरिएको थियो । उच्च ज्वरोका साथै शरीरमा हेमोग्लोबिनको कमी देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । (सौस)

प्रतिक्रिया