काठमाडौं, १७ कात्तिक । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले विपक्षी दलको अवरोध तोडेर पूर्ण बजेट ल्याउनु पर्ने बताएका छन् ।
उनले सरकारले चार सय पचास अर्बको हाराहारीमा पूर्ण बजेट ल्याउने तयारी गरेको बताए । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘अबरोध भए विपक्षीको ढोका फोडेर भए पनि सरकारले पूर्ण बजेट ल्याई छाड्छ ।’
अर्थविद् डा.तिलक रावलले सहमतिमा बजेट ल्याउनु पर्ने बताए । उनले भने, ‘पूर्ण बजेट नआउँदैमा मुलुकको अर्थतन्त्रमा खासै प्रभाव पर्दैन ।’
मुलुकको अर्थतन्त्र सबै तिरबाट धरासायी भएको भन्दै बजेट नआउँदा तलब खाने कर्मचारीलाई बाहेक अरुलाई तात्विक असर नपार्ने बताए ।
अर्थविद् डा.चिरञ्जीवी नेपालले तानाशाही र कम्यूनिष्ट शासन बाहेक संसारमा कुनै पनि सरकारले विना सहमति बजेट नल्याएको बताए । उनले भने, ‘बजेट राजनीतिक सहमतिकै आधारमा ल्याउनु पर्छ ।’
अर्थविद् डा.विश्वम्भर प्याकुरेलले बजेटमा राजनीति गर्न नहुने बताए ।
नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर हिमालय सम्शेर जवराले सहमतिका लागि अधिकतम प्रयत्न गरेर भए पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन पूर्ण बजेट ल्याउनु पर्ने बताए ।
अर्थविद् केशव आचार्यले पनि सहमतिमा पूर्ण बजेट आउनु पर्ने आवश्यकता औल्याए । उनले सहमति नभए पनि क्रमांगत आयोजनालाई कार्यान्वयन गर्ने गरी खर्च धान्ने बजेट ल्याउनु पर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शुरेसकुमार बस्नेतले सहमतिमै पूर्ण बजेट आउनु पर्ने भन्दै सहमतिमा बजेट नआए त्यसको सार्थकता नहुने स्पष्ट पारे ।
अर्थविद् कोषराज पाण्डेले बजेट आय ब्ययको अनुमान मात्रै नभई राजनीतिक दस्तावेज समेत भएकाले जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिमा आउनु पर्ने बताए ।
प्रतिक्रिया