काठमाडौं, १३ कात्तिक । दुई कम्पनीले तिहारपछि एक अर्ब रुपियाँसम्मको सामूहिक लगानी कोष स्किम (म्युचुअल फन्ड) ल्याउने भएका छन् । सर्वसाधारणमा योजना बिक्रीका लागि तयारी भएको जानकारी दुवै म्युचुअल फन्ड कम्पनीले दिएका छन् । बोर्डबाट अहिलेसम्म तीन कम्पनीले म्युचुअल फन्ड सञ्चालन गर्न अनुमति पाएका छन् । एनएमबी क्यापिटलले भने हालै मात्र कोष सञ्चालन गर्न अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषका रूपमा काम गर्न अनुमति पाएका सिद्धार्थ म्युचुअल फन्ड र नबिल म्युचुअल फन्डले सर्वसाधारणका लागि एक अर्ब रुपियाँसम्मको लगानी योजना ल्याउन लागेका हुन् ।
सिद्धार्थ म्युचुअल फन्डले दसँै अगाडि नै फन्ड सञ्चालनका लागि बोर्डबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेका छन् भने तिहारपछाडिबाट पत्रपत्रिकामार्फत युनिट बेच्न आह्वान गरिने सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले बताए । सुरुमा ४० करोडको कोषको युनिट बेच्ने र अधिक रूपमा बिक्री भएमा थप १० करोड बढाएर ५० करोड रुपियाँसम्मको युनिट बेच्ने तयारी रहेको तिमिल्सिनाले बताए । सामूहिक लगानी कोष नियवमालीमा युनिटको माग बढी भएमा थप २५ प्रतिशतसम्म बढाएर बिक्री गर्न सकिने प्रावधानअनुसार ५० करोड रुपियाँसम्मको युनिट बेच्न लागिएको कम्पनीले जनाएको छ ।
धितोपत्र बोर्डले ल्याएको सामूहिक लगानी कोष नियमावलीअन्तर्गत रहेर कोषले लगानी केन्द्रित गर्न पाउनेछन् । सेयर बजार, ट्ेरजरी बिल्सलगायत मुद्रा बजारमा लगानी गर्न पाउने व्यवस्था नियमावलीमा छ । सामूहिक लगानी कोषको मुख्य फाइदा भनेको सेयर बजारको विशेष ज्ञानविना नै ढुक्क भएर लगानी गर्नु हो । सर्वसाधारण लगानीकर्ताले यस्ता म्युचुएल फन्डमा लगानी गर्ने गर्दछन् । म्युचुअल फन्ड विशेषगरी पैसा भए पनि लगानीसम्बन्धी ज्ञान नभएका तथा पर्याप्त पैसा नभएका लगानीकर्तालाई लक्षित गएर ल्याइएको लगानी औजार हो ।
साधारणतया यस्ता फन्ड व्यावसायिक व्यक्तिले सञ्चालन गर्ने हुँदा प्राय: गुम्ने सम्भावना कम रहन्छ । यस्ता फन्डले हरेक वर्ष निश्चित प्रतिशत लाभांश वितरण गर्न विभिन्न पोर्टफोलियामा लगानी गर्ने गर्दछन् । फन्डको युनिट किन्न सर्वसाधारण एवं वित्तीय संस्थालाई पनि खुला छ । बैंक तथा वित्तीय संस्थाले अर्को बैंक तथा वित्तीय संस्थाको सेयर किन्न रोक भए पनि यस्तो युनिट किन्न भने खुला भएका कारण संस्थागत लगानीकर्ता नभएको नेपालको परिप्रेक्ष्यमा बैंक तथा वित्तीय संस्था नै संस्थागत लगानीकर्ता हुने अपेक्षा गरिएको छ ।
म्युचुअल फन्ड सञ्चालन गर्ने संस्थाले एक युनिट बराबर १० रुपियाँ हुने गरी स्किम सार्वजनिक गर्नेछन् । स्किम सार्वजनिक भएपछि व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछन् । त्यस्तो स्किम तीनदेखि सात वर्षसम्मका लागि हुन सक्नेछ । लगानीकर्ताले कुन क्षेत्रमा लगानी गर्न चाहेका हुन् सोही आधारमा स्किममा लगानी गर्न सक्नेछन् । लगानीकर्ताले गर्ने लगानी स्किमअनुसार त्यसमा जोखिम तथा नाफा निर्धारण हुनेछ । सामान्यतया इक्विटीमा गरिने म्युचुअल फन्डको लगानीमा उच्च जोखिम वा नाफा बढी हुने गर्छ । म्युचुअल फन्डले स्किम बिक्री गर्दा इक्विटी, ऋणपत्रलगायत क्षेत्रमा लगानी गर्न चाहनेका लागि बिक्री गर्नेछन् ।
प्रतिक्रिया