राष्ट्रपति चुनाव गर्ने दाहालको प्रस्ताव

काठमाडौं, ३ कात्तिक । सहमति भएका विषय समेटेर संविधान घोषणा गर्न सकिने प्रस्ताव प्रस्तुत गरेर युरोप भ्रमणमा गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले युरोप भ्रमणबाट फर्कनेबित्तिकै राष्ट्रपतीय निर्वाचनको नयाँ प्रस्ताव अघि सारेका छन् । बिहीबार कांग्रेस सभापति सुशील कोइरालासँग भएको भेटवार्ताका क्रममा दाहालले आकस्मिक रूपमा राष्ट्रपति निर्वाचनको प्रस्ताव राखेका हुन् ।
दलहरूबीच सहमति जुटाउन नयाँ जोशका साथ नेपाल फर्किएको बताएका दाहाल कांग्रेस सभापति कोइरालालाई भेट्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित कोइरालानिवास महाराजगन्ज पुगेका थिए । बुधबार पाँचदिने युरोप भ्रमणबाट फर्किएका दाहालले यसअघि आफूले राखेका विकल्पमा राष्ट्रपति निर्वाचनको कुरा थप गरेका हुन् । दाहालका अनुसार संविधान घोषणा नगरी नयाँ निर्वाचनमा जाने हो भने अन्तरिम संविधान संशोधन गरी राष्ट्रपति निर्वाचन पनि गर्नुपर्छ । संविधान घोषणा गरेर संसदीय निर्वाचनमा जाँदा भने नयाँ संविधानको प्रावधानअनुरूप राष्ट्रपतीय निर्वाचन हुने उनको भनाइ छ ।
नयाँ संविधान जारी भएपछि कांग्रेस नेतृत्वमा चुनावी सरकार गठन हुने उल्लेख गर्दै कोइरालासँगको भेटपछि दाहालले भने, ‘संविधानमा सहमति नभई अर्को संविधानसभाको निर्वाचनमा जाने हो भने माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने प्रस्ताव राख्यौँ ।’ विपक्षी कांग्रेस–एमालेले संविधानसभा पुन:स्थापना हुन नसक्ने धारणा बनाएपछि माओवादीले नयाँ जनादेशमा जाने अवस्थामा राष्ट्रपतिको नयाँ निर्वाचन गर्नुपर्नेमा जोड दिएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सौर्यसँग भने, ‘संविधानसभाको नयाँ निर्वाचन हुने हो भने यसअघिको संसद्बाट निर्वाचित भएका राष्ट्रपतिको कार्यकाल स्वत: समाप्त हुन्छ ।’
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने राष्ट्रिय सरकार गठनपछि मात्रै राजनीतिक दलबीच अरू विषयमा सहमति जुटाउनुपर्ने बताएका थिए । सञ्चारकर्मीसँग सिटौलाले भने, ‘राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ ।’

प्रतिक्रिया