राष्ट्रपतीय निर्वाचन अर्को षड्यन्त्रः महत

काठमाडौं, २ कार्तिक । कांग्रेसका केन्द्रीय सदस्य प्रकाशसरण महतले एमाओवादीको सत्ता कब्जाको रणनीतिमा राष्ट्रपति बाधक बनेकाले राष्ट्रपतीय निर्वाचनको कुरा उठाएको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले सत्ताकब्जाको बाधा हटाउन एमाओवादीले राष्ट्रपतिको नयाँ निर्वाचनको कुरा गरेको दाबी गरे । ‘राष्ट्रपति सत्ताकब्जामा बाधक भए पछि एमाओवादीले षडयन्त्र थालेको छ,’ उनले भने, ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोंचे जस्तो केही पनि हुन सक्दैन ।’
एमाओवादी अध्यक्ष दाहालले कांग्रेस नेताहरुसँगको भेटमा राष्ट्रपतीय निर्वाचनमा जान प्रस्ताव गरे पछि विरोध हुन शुरु भएको छ ।
संविधानका विवादित विषयमा सहमति बन्ने सम्भावना एकदमै न्यून रहेकाले संविधानसभा पुनःस्थापना भन्दा निर्वाचन नै अहिलेको गतिरोध अन्त्यको उपयूक्त विकल्प भएको उनको भनाई छ ।
उनले जेठ–२ गते भएको सहमति अनुसार संविधानका सबै विवादित विषयमा सहमति बने संविधान जारी गर्न संविधानसभा पुनःस्थापना गर्न सकिने उल्लेख गरे ।
कांग्रेसका कोही नेता प्रधानमन्त्री बन्ने लोभमा पुनःस्थापनामा लागेको आरोपको उनले खण्डन गरेका छन् । उनले भने, ‘कांग्रेसका नेताले प्रधानमन्त्री पाउँछन् भने कांग्रेसीले नै त्यसमा विरोध गर्नुको अर्थ छैन, खुसीकै कुरा हो ।’

प्रतिक्रिया