दुर्घटनामा तीनको मृत्यु

काठमाडौं, २ कात्तिक । पाल्पा र बझाङमा भएका सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ । दुर्घटनामा ३२ यात्रु घाइते भएका छन् ।

पाल्पाको चिदीपानीबाट सदमुकाम तानसेन जाँदै गरेको लु १ ज २१६९ नम्बरको जिप दर्लमडाँडा–९ गेजामा दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गंगा खाम्चा र धनबहादुर खाम्चाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा २४ यात्रु घाइते भएका छन् । तीमध्ये सातको अवस्था गम्भीर रहेको छ । उनीहरूको तानसेन मिसन अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, बझाङको बागथलाबाट बिजगडा गइरहेको ना १ ज ३२६० नम्बरको यात्रुबाहक जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु गम्भीर घाइते भएका छन् । जिप बुधबार बाझ–३, आगेथरमा दुर्घटनामा परेको हो । यात्रु र सामानले भरिभराउ जिप ब्रेकफेल भएर सडकबाट एक सय मिटर तल खेतमा खसेको प्रत्यक्षदर्शी हिक्मत विकले बताए ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा बाँझ–३ का रमेश बोहराको उपचारका लागि डडेल्धुरास्थित टिम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा बाँझ–६ का दीपक भण्डारी, बाँझ–३ का कमल बोहरा, मीन ठकुन्ना, बाँझ–५ का योगेन्द्र धामी, बाँझ–१ का गोविन्द भण्डारी, खिरातडी–८ का शंकर बोहरा, अमरराज जोशी र जिपका सहचालक नवराज नेपाली घाइते भएका छन् । घाइतेमध्ये सहचालक नेपाली र अर्का एकको अवस्था सामान्य भए पनि बाँकीको अवस्था चिन्ताजनक रहेको डिएसपी उदय तामाङले बताए । घाइतेलाई थप उपचारका लागि टिम अस्पताल डडेल्धुरा लगिएको छ ।

प्रतिक्रिया