डाँकाको आक्रमणबाट एक जनाको मृत्यु

सिरहा, २६ असोज । हतियार सहित आएका डाँकाले सिरहाको कल्याणपुर–२, जब्दी गाउँबाट लाखौंको धनमाल लुटपाट गर्नुका साथै एक जनाको हत्या गरेका छन् ।
बिहीबार मध्य राति हतियारसहित डकैती गर्न आएका डाँकाको खुकुरी प्रहारबाट स्थानीय चन्द्रदेव साहको मृत्यू भएको प्रहरीले जनाएको छ । ईन्द्रनारायण साहको घरमा लुटपाट भए पछि प्रतिकार गर्ने क्रममा डाँकाले खुकुरी प्रहार गर्दा चन्द्रदेवको मृत्यु भएको हो । मृत्यु हुने चन्द्रदेव ईन्द्रनारायणका भाई हुन् ।
डाँकाको आक्रमणबाट स्थानीय गीतादेवी मण्डलपनि गम्भीर घाईते भएकी छन् । उनको जिल्ला अस्पताल सिरहामा उपचार भईरहेको छ ।
१७ जना भन्दा बढिको संख्यामा रहेका सशस्त्र डाँकाले ईन्द्रनारायणको घरवाट ५ तोला सुन, ४० तोला चाँदी, मोवाईल सेट ३ थान र नगद एक लाख ५० हजारसमेत करिव ७ लाख बराबरको धनमाल लुटेर लगेका छन् ।
डाँकाको समूह बम पड्काउँदै तथा फायरिङ गर्दै गाउँमा प्रवेश गरेको स्थानीय रामजी साहले बताए । उनका अनुसार डाँकाले ७ पटक बम बिस्फोट गराएका थिए भने दर्जनौ पटक फायरिङ समेत गरेका थिए ।
डकैती भएको गाउँ भन्दा दुई किलो मिटरको दुरीमा रहेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कल्याणपुर र ईलाका प्रहरी कार्यालय भए पनि विहान मात्रै सुरक्षाकर्मी पुगेका थिए ।
डकैतीका सम्बन्धमा स्थानीयले समयमा प्रहरीलाई खबर पुराएका जनाएका छन् । सुरक्षाकर्मी विहान मात्रै आएपछि स्थानीयले प्रहरी विरुद्ध नारावाजी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी विक्रम गुरुङले डाँकाको खोज तलास भईरहेको र अपराधीलाई कारबाही गर्ने जनाएका छन् ।

प्रतिक्रिया