परिषद्–एनओसी विवाद बढ्दो

काठमाडौं, २६ असोज । राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीचको विवादले नयाँ रूप लिएको छ । नेपाली खेलकुदका दुई निकाय दुई ध्रुवमा विभाजन भएको समयमा परिषद्लाई बल पुग्ने गरी नेपाल ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आर्थिक हिनामिना गरेको आरोप लगाएको एक दिनपछि एनओसीले यो आरोप अस्वीकार गरेको छ ।
एनओसीले बुधबार विज्ञप्ति प्रकाशन गरी आफूमाथिको आरोप गलत भएको दाबी गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले संयुक्तरूपमा मंगलबार विज्ञप्ति जारी गर्दै कमिटीले आर्थिक हिनामिना गरेको आरोप लगाएका थिए । ओलम्पियन दीपक विष्टले प्रयोजितरूपमा काम गरिरहेको आरोप कमिटीले लगाएको थियो । त्यसैगरी कमिटीका सदस्य रवि राजकर्णिकारलाई लन्डन ओलम्पिकमा सेभ द मिसन बन्न नपाएको रिसमा कमिटीको आर्थिक सहयोगमा अध्ययन गरी प्राप्त गरेको ज्ञानको गलत ढंगले प्रयोग भएको भ्रम सिर्जना गरेको आरोप एनओसीले जारी गरेको विज्ञप्तिमा जनाइएको थियो ।
प्रशिक्षकका लागि लगानी गरिएको ८० हजार डलरको सन्दर्भमा कमिटीले १० ओटा राष्ट्रिय संघले ८ हजार डलरका दरले ४ वर्षभित्र टेक्निकल कोर्स गर्ने गरी लगेको दाबी एनओसीले गरेको थियो । युथ ओलम्पियन सिंगापुरमा सहभागिता हुने खेलाडी तयार गर्न प्रत्येक खेलाडीका लागि ६ हजार ३४ डलरका दरले निकासा भई तीन खेलाडी र प्रशिक्षक हरि रोकायालाई लगिएको बताइएको छ । सो सहभागिताको समन्वय रवि राजकर्णिकारले गरेको विज्ञप्तिमा उल्लेख छ । कमिटीले ओलम्पियनहरूले ओलम्पिक कमिटीको वैधानिकताका बारेमा जानीजानी ओलम्पिक मुभमेन्टको अहित हुने गरी बोल्नु सुहाउँदो नभएको बताएका थिए । आइओसीको चार वर्षको एक आर्थिक वर्ष हुने बताउँदै कमिटीले जारी गरेको विज्ञप्तिमा त्यस अवधिमा एनओसीलाई ५ लाख ४७ हजार डलर ७० पटक निकासा भई खर्च भएको बताइएको छ । कमिटीले रुक्मशमशेर राणाले २२ लाख रुपियाँ अनधिकृतरूपमा अपचलन गरेको आरोप पनि लगाएको थियो ।
परिषद्ले ध्रुवबहादुर प्रधान नेतृत्वको एनओसीविरुद्ध आर्थिक अनियमितताका चारवटा मुद्दा दायर गर्ने बुधबारै आयोजित पत्रकार सम्मेलन गरी जनाएको थियो भने एनओसीले विज्ञप्ति जारी गरेको एक दिनपछि नै धावक हरिबहादुर रोकायाले आफूले ५ सय १० डलर मात्र लिएको जनाएका छन् ।

प्रतिक्रिया