संसद् सचिवालयका कर्मचारी कामविहीन

काठमाडौं, २६ असोज । कुनै बेला एक–आपसमा बोल्नसमेत भ्याइनभ्याई हुने व्यवस्थापिका संसद्का कर्मचारी यतिबेला पूरै फुर्सदिला बनेका छन् । संविधानसभा विघटनसँगै सचिवालयमा काम गर्ने कर्मचारी कामविहीन बनेका हुन् ।
संसद् सचिवालयमा दुई सय ६० भन्दा बढी कर्मचारीको दरबन्दी छ भने केही कर्मचारीलाई करारमा नियुक्ति गरिएको छ । सचिवालयमा मुख्यसचिवसरह सुविधा प्रयोग गर्ने गरी राजनीतिक नियुक्तिमा एक महासचिव, एक नेपाल सरकारका सचिव, १६ जना सहसचिव तथा उपसचिव र अन्य दरबन्दीका कर्मचारी छन् । कुनै काम नभए पनि उनीहरूले मासिक रूपमा तलब–भत्ता बुझिरहेका छन् । उनीहरू सरकारका स्थायी कर्मचारी भएकाले काम नभए पनि मासिक तलब दिनुपर्ने हुन्छ ।
सचिवालयमा काम नभएपछि कर्मचारीहरू नियमित कार्यालयसमेत आउन छाडेका छन् । केही कर्मचारीचाहिँ बिदा मनाउन भन्दै विदेश लागेका छन् । सचिवालय कर्मचारी प्रशासन महाशाखाका अनुसार कर्मचारी समयमा कार्यालय नआउनु तथा कार्यालय आए पनि टेबुलमा नहुनुलाई सामान्य मान्न थालिएको छ । कार्यालय आएका कर्मचारी पनि कम्प्युटरमा गेम खेलेर तथा साथीहरूसँग कुरा गरेर समय बिताउने गर्छन् ।
सचिवालयका एक कर्मचारीका अनुसार दिउँसो दुई बजेसम्म जेनतेन कार्यालयमै रहने गरेका कर्मचारी त्यसपछि कार्यालयबाट एक–एक गरी बाहिरन्छन् । ‘कुनै नगरी नहुने काम छ भने मात्र बेलुकी चार बजेसम्म कार्यालयमा कर्मचारी देखिन्छन्,’ स्रोतले सौर्यसँग भन्यो, ‘नत्र हिँडिसकेका हुन्छन् ।’ तर, आºनो साधन नभएका सामान्यस्तरका केही कर्मचारी भने बेलुकी सचिवालयकै गाडीमा घर जाने गरेका छन् । सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईसमेत नियमित कार्यालय आउँदैनन् । सचिवालयका एक कर्मचारीले भने, ‘कामै नहुने भएपछि नियमित कार्यालय आएर पनि के गर्ने ?’
‘सचिवालयको फोकल प्वाइन्ट संसद् हो, संसद् नै नभएपछि सचिवालय सुनसान हुनु तथा काम नहुनु स्वाभाविकै हो,’ सचिवालयमा कार्यरत एक अधिकृत केशवबाबु अर्यालले भने, ‘पहिले–पहिले निकै भिडभाड हुन्थ्यो, अहिले सुनसान छ र काम पनि त्यतिसाह्रो छैन ।’ जसलाई सहयोग गर्न यो सचिवालय बनाएको हो, त्यो नै नरहेपछि कर्मचारी फुर्सद हुनु स्वाभाविकै भएको उनको भनाइ छ । अर्यालले भने, ‘हामीले कुनै नीति–नियम बनाउँदैनौँ, कुनै काम गर्न फिल्डमा खट्दैनौँ अनि कसरी काम देखिन्छ ?’ संसद् भएका बेला भने निकै धेरै काम हुने उनले बताए । ‘विभिन्न डकुमेन्ट अध्ययन गर्नेदेखि त्यसलाई अन्तिम रूपम दिँदासम्म हामी कर्मचारीकै भूमिका रहन्छ,’ उनले भने, ‘त्यतिबेला सचिवालयमा काम गर्ने अधिकांश कर्मचारीले खानसमेत भ्याएका हँुदैनन् ।’
संसद् सचिवालयका सचिव ठाकुरप्रसाद बरालले सचिवालयमा काम गर्ने कर्मचारीलाई काम दिन नसकिएको बताए । ‘संविधानसभा तथा व्यवस्थापिका संसद् विघटन भएपछि कर्मचारी कामविहीन भएका छन्,’ सविच बरालले सौर्यसँग भने, ‘काम नभए पनि कार्यालय आएर पुराना सामग्री अध्ययन गर्ने गरेका छन् । अहिले आफू पनि कामविहीन अवस्थामा रहेको उनले बताए । ‘सचिवालयमा यतिबेला दैनिक प्रशासन सञ्चालनबाहेक केही काम नहुने भएकाले म पनि निकै फुर्सदिलो छु,’ उनले भने, ‘पहिले मलाई कार्यालयकै साथीहरूसँग बोल्ने समयसमेत हँुदैनथ्यो ।’
संसद् सचिवालयमा संविधानसभाअन्तर्गत मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक–अधिकार संरक्षण समिति, व्यवस्थापकीय अंगको स्वरूप निर्धारण समिति, राज्यको शासकीय स्वरूप निर्धारण समिति, न्याय प्रणालीसम्बन्धी समिति, संवैधानिक निकायको संरचना निर्धारण समिति, प्राकृतिक स्रोत आर्थिक अधिकार तथा राज्यबाँडफाँड समिति, राष्ट्रिय हित संरक्षण समिति, सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति र कार्यव्यवस्था तथा परामर्श समिति थिए । त्यस्तै प्रक्रियागत समितिमा नागरिक सम्बन्ध समिति, जनमत संकलन तथा समन्वय समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति बनाइएको थियो । त्यस्तै, व्यस्थापिका संसद्अन्तर्गत अर्थ र श्रम सम्बन्ध समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समिति, प्राकृतिक स्रोत र साधन समिति, विकास समिति, महिला बालबालिका र समाजकल्याण समिति, राज्य व्यवस्था समिति र सार्वजनिक लेखा समिति बनाइएको थियो ।
सचिव बरालका अनुसार यी सबै समितिमा पाँचदेखि सातजनासम्म कर्मचारी खटिएका थिए । सहसचिवस्तरका कर्मचारीको नेतृत्वमा उपसचिव, शाखा अधिकृत, कम्प्युटर अपरेटर तथा अन्य सहयोगी समितिमा दैनिक खटिँदै आएका थिए । कुनै समितिका कर्मचारीले दुईवटा समितिसमेत हेर्ने गरेको जानकारी गराउँदै सचिव बरालले थपे, ‘दुईवटा समितिको काम धानिरहेका कर्मचारी अहिले समिति नहुँदा कामविहीन बन्नुलाई अस्वाभाविक मान्न सकिँदैन ।’ एउटा सामान्य बैठकका लागि पनि समितिका कर्मचारी तीन दिनसम्म व्यस्त रहनुपर्ने बाध्यता रहेको सचिवको भनाइ थियो ।
काम नहुँदा ‘कर्मचारी बरालिन सक्ने’ भएकाले उनीहरूलाई विभिन्नखाले तालिम दिने व्यवस्था मिलाइएको छ । संसद् तथा संविधानसभामा माननीयहरूले बोलेका कुरा उतार्ने, संविधानसभासम्बन्धी विश्वमा भए/गरेका घटना अध्ययन तथा अनुसन्धान गर्ने, संसदीय प्रणालीमा कर्मचारीले खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षित गराउने तथा कम्प्युटर र अन्य प्राविधिक तालिम उपलब्ध गराइएको छ । सचिव बरालले भने, ‘कर्मचारीमा रहेको फुर्सका समयको सदुपयोग पर्न सामान्य खालका भए पनि केही कार्यक्रम अघि सारेका छौँ ।’ उनले काम नभए पनि कर्मचारीलाई चुस्त बनाउन विभिन्न डकुमेन्ट संकलन गर्ने, संसद्को पुस्तकालयलाई व्यवस्थित गर्ने, जनमत संकलनबाट आएका उत्तर अध्ययन गरी त्यसलाई उतार्नेजस्ता काममा लगाएको बताए ।
लेखा शाखाका अधिकृत केशवबहादुर अर्यालले पनि लेखाका कर्मचारीलाई फुर्सद मिलेको बताए । ‘पाँच सय ९७ जना मानिसलाई तलब–भत्ता तथा अन्य बिलअनुसारको रकम दिने काम रोकिएपछि तुलनात्मक रूपमा काम कम हुनु स्वाभाविकै हो,’ खनालले भने, ‘तर, हामी पुराना र बाँकी रहेका हिसाबलाई व्यवस्थित गर्न लागेकाले दिन बिताउन सजिलै भएको छ ।’
सचिवालयमा कर्मचारी प्रशासन, लेखा, स्टोरलगायत शाखामा काम गर्ने कर्मचारीका लागि भने नियमित काम छ । त्यसबाहेक अन्य शाखामा काम गर्ने कर्मचारीको यतिबेला काम छैन । ‘पहिले संविधानसभा, व्यस्थापिका संसद् तथा त्यसअन्तर्गतका विभिन्न समितिले पारित गरेको डकुमेन्ट छाप्न भ्याइनभ्याई हुन्थ्यो,’ सचिवालयको मुद्रण शाखामा काम गर्ने एक कर्मचारीले भने, ‘तर, अहिले ती सबै काम बन्द भएकाले हामी फुर्सदमै छौँ ।’ त्यस्तै, स्टोरमा काम गर्ने कर्मचारीले पनि यतिबेला काम नभएको बताए । ती कर्मचारीका अनुसार अहिले स्टोरमा पहिले अवस्थित रूपमा राखिएका सामान लिस्टिङ गरी मिलाउने काम भइरहेको छ ।

प्रतिक्रिया