सशस्त्र समूहका अध्यक्षले गरे अपहरितको उद्धार

नेपालगन्ज, २५ असोज । केही महिना अघिसम्म तराईमा चन्दा आतंक, बम विस्फोटन र अपहरणका घटना गरेर त्रसित बनाएका भगत सिंहले नेपालगन्जबाट अपहरित एक युवकको भारतबाट उद्धार गरेका छन् । चिनी ल्याउन सीमावर्ती भारतीय बजार रुपैडिहा गएका बेला अज्ञात समूहको अपहरणमा परेका दुई युवकमध्ये बाँके गनापुर–कोठारपुरका अमितकुमार सहनीलाई सिंहले भारतको बाबागन्जनजिकबाट अपहरणमुक्त गराएका हुन् ।

गत बिहीबार भारतको रुपैडिहाबाट अपहरणमा परेका सहनीलाई बाबागन्जनजिकको रामपुर बगियामा आधा दर्जनको समूहमा रहेका अपहरणकारीले बाँधेर राखेको थाहा पाएपछि सिंह त्यहाँ पुगेका थिए । आफ्नो टोलीसहित त्यहाँ पुग्दा अपहरणकारी भागेको र अपहरित युवक सहनीलाई मुक्त गराएको सरकारसँग शान्तिपूर्ण वार्ता गरिरहेको जनतान्त्रिक तराई–मधेस मुक्ति पार्टीका अध्यक्षसमेत रहेका सिंहले जानकारी दिए । अपहरणमुक्त गरिएका सहनीलाई सिंहले बुधबार राष्ट्रिय मानवअधिकार आयोगका कर्मचारी र पत्रकारको उपस्थितिमा बाबु रामराजलाई भारतको रुपैडिहामा बुझाएका छन् ।
सिंहले अपहरित युवकको मोटरसाइकल पनि परिवारलाई बुझाएका छन् । ‘हत्या, हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा लागिरहेका बेला मेरो क्षेत्रमा यस्ता घटना हुनु ज्यादै नराम्रो हो,’ सिंहले सञ्चारकर्मीसँग भने, ‘अहिलेसम्म जे भयो भयो, अब यस्तो कसैले गर्नुहुँदैन ।’ उनले अपहरण गर्ने व्यक्तिको पहिचान गरी नेपाल प्रहरीलाई बुझाइदिने बताए । अपहरणकारी भारतमै लुकेको हुन सक्ने बताउँदै उनले उनको खोजी भइरहेको बताए ।
बिहीबार भे २ प ९८६९ नम्बरको मोटरसाइकलमा सहनीसहित कारकाँदो गाविस भुजई गाउँका सन्तोषकुमार तेली रुपैडिहा गएका बेला जैतापुर गाउँबाट दिउँसो अज्ञात समूहले उनीहरूको अपहरण गरेर लगेको थियो । अपहरणमा रहेका सन्तोष शनिबार राति २ बजे अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका थिए । उनी सिमानानजिक रहेको हिरमिनिया प्रहरी चौकीमा पुगेका थिए । हिरमिनिया चौकीले उनलाई तत्काल जिल्ला प्रहरीमा बुझाएको थियो भने प्रहरीले परिवारको जिम्मामा लगाएको थियो ।
तर अपहरणकारीकै कब्जामा रहेका सहनीलाई भने सोमबार बिहान बाबागन्जबाट भगत सिंहको टोलीले अपहरणमुक्त गराएको थियो । अपहरणकारीले सन्तोषका परिवारसँग सुरुमा १ करोड रुपियाँ फिरौती मागेका थिए । परिवारले १० लाख रुपियाँ दिन तयार रहे पनि अपहरणकारीले नमान्दा ८० लाख रुपियाँमा डिल भइरहेका बेला सन्तोष भाग्न सफल भएको प्रहरी स्रोतले बताएको छ ।
बाँकेका एसपी विक्रमसिंह थापाले सन्तोष भागेर प्रहरीकोमा आएको र परिवारलाई बुझाइएको बताए । उनले अपहरण घटनाको अनुसन्धान भइरहेको र भगत सिंहले बुझाएका युवक सहनीसँग पनि सोधपुछ भइरहेको जानकारी दिए । उनले घटनाको अनुसन्धानका लागि भारतीय प्रहरीको सहयोग लिइएको बताए । अपहरित युवकको उद्धार गर्ने भगत सिंह बाँके हिरमिनिया गाविस निवासी हुन् । मधेस अधिकारका लागि भन्दै उनले जनतान्त्रिक तराई–मधेस मुक्ति पार्टी गठन गरेर सशस्त्र गतिविधि चलाउँदै आएका थिए । विशेषगरी बाँकेसँग सीमा जोडिएको भारतीय गाउँमा बसेर उनले सशस्त्र गतिविधि गर्दै आएका थिए । पछिल्लोपटक शान्तिपूर्ण राजनीति गर्ने बताउँदै आएका सिंहले सरकारसँग दोस्रो चरणसम्मको वार्ता गरी हतियार बुझाउने अन्तिम तयारी गरिरहेका छन् ।
बन्धक बालिका मुक्त
काभ्रे : सदरमुकाम धुलिखेलबाट तीन दिनअघि हराएकी एक बालिकालाई बुधबार सशस्त्रको राजस्व गस्ती टोलीले बन्धक अवस्थाबाट मुक्त गराएको छ । धुलिखेल–७ घर भएका राजेन्द्र विककी ५ वर्षीया छोरी विनिता घरबाटै हराएकी थिइन् । राजस्व गस्तीको टोली बस्ने अरनिको राजमार्गस्थित २८ किलोनजिकै घरमा बन्धक बनाइएको अवस्थामा सशस्त्रको टोलीले मुक्त गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी गीता उप्रेतीले जानकारी दिइन् ।
धुलिखेल–७ घर भएका नारायण दाहालको घरमा डेरा गरेर बस्ने सिन्धुपाल्चोक फुल्पिङकट्टी–४ की १८ वर्षीया अञ्जु श्रेष्ठको कोठामा बालिका र अञ्जु भित्रबाट चुकुल लगाएर बसेको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको हो । अञ्जुको कोठामा दुई/तीन दिनदेखि बालिकालाई थुनेर राखेको स्थानीयको सूचनाका आधारमा सशस्त्र प्रहरीले बालिकालाई मुक्त गराएको हो । बन्धक बालिकालाई अपहरण गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी उप्रेतीले जानकारी दिइन् ।
सोमबार साँझ करिब साढे ५ बजे ठूलाबुबा दिनेश विकको घरमा बसेकी विनितालाई अञ्जुले चकलेट खान जाऊँ भन्दै लिएर कोठामै बन्धक बनाएको विनिताका ठूलाबाबु दिनेशले जानकारी दिए । ‘अञ्जुले विनितालाई आफूकहाँ लैजान्छु भनिन् र पछि फर्काइनन्,’ उनले भने । विनिताको खोजी गरिरहेको भए पनि परिवारले खबर पाउन सकेका थिएनन् । (सौस)

प्रतिक्रिया