७ कक्षामा वैद्यपत्नी

काठमाडौं, २३ असोज । एक ५६ वर्षीया गृहिणी हरेक बिहान ९:३० बजे झोला बोकेर घरबाट निस्किन्छिन् । उनलाई नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी भनेर चिन्नेहरूले ठान्लान्– पार्टी कामको चटारोमा दौडिएकी होलिन् । तर, यतिबेला उनी हान्निँदै हुन्छिन् स्कुलतिर ।

आमगृहिणी एवं नेता–पत्नीहरूको भन्दा विल्कुलै फरक जीवनशैली छ सुष्मा पोखरेलको । उनी गृहिणी मात्रै नभएर एक स्कुले विद्यार्थी पनि हुन् । घर–व्यवहार र पढाइलाई सँगसँगै अगाडि बढाउन सजिलो छैन । ‘लौ आज मिसले पिट्नुहुने भो, होमवर्क नै सकेको छैन । बिहान अलि सबेरै उठ्नुपर्ने रै’छ † आज घरमा अलि धेरै भेट्ने मान्छे आए, खाना–खाजा गर्दा पढ्ने समय नै पुगेन ।’ घरबाट निस्किएपछिको करिब २० मिनेट हिँडाइमा उनको मनमा यस्तै तर्कना खेलिरहेका हुन्छन् ।
उमेरले गुरुआमाभन्दा जेठी सुष्मालाई विद्यार्थी बनेर नातिनी उमेरका नानीहरूकै लहरमा मिसिन कुनै संकोच लाग्दैन । उनी पढ्ने गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालय मूल सडकबाट देब्रेतर्फ करिब २ सय मिटर भित्री बाटोमा छ । टिनको छानो भएको एउटा सानो कोठामा १३/१४ वर्षका १०/१२ जना छात्रा हुन्छन् । यो हो कक्षा सात । सुष्माको सिटचाहिँ देब्रेतिरको अघिल्लो बेन्चमा रहेछ ।
कक्षाकोठामा पुग्नासाथ झोलामा मिलाएर राखेको किताब–कापी अनि कलम निकाल्छिन् । पावरदार चस्मा आँखामा भिर्छिन् । आडैकी किशोरी साथीलाई कानमा सुटुक्क सोध्छिन्, ‘आजको पाठ कुन रे †’ पाको भइसकेको दिमागले सायद सजिलै सम्झँदैन । साथीको सल्लाहअनुसार सम्बन्धित पाठ पल्टाउँछिन् । आँखा तन्काउँदै अक्षरका भाव र अर्थ बुझ्नतिर तल्लीन हुन्छिन् । सुष्मालाई नजानेका कुरा मिससँग सोध्न केही अप्ठ्यारो लाग्दैन ।
बिहान १० देखि दिउँसो साढे ३ बजेसम्म पूरा समय स्कुलमा बिताउँछिन् सुष्मा । रहरको पढाइ भएर होला, कक्षामा अल्छी पटक्कै मान्दिनन् । न त केही कुरा नजानेकोमा आत्तिन्छिन् । किनकि यिनलाई थाहा भइसकेको छ– पढ्दै जाँदा विस्तारै सबै कुरा जानिन्छ ।
‘शिशु कक्षाबाट एक वर्षमै तीन कक्षामा पुगेँ,’ औपचारिक पढाइको ६ वर्षअघिको सुरुआती अनुभव बाँड्दा सुष्मा रोमाञ्चित हुन्छिन्, ‘मैले त सानो एबिसिडी यहीँ आएर सिकेकी हँु ।’ अंग्रेजी पढ्न पाएकामा उनी दंग छिन् । उनको सबैभन्दा मन पर्ने विषय नै अंग्रेजी रहेछ । ‘अंग्रेजी नै सजिलो, स्पिलिङ जानेपछि सुइँ–सुइँ अगाडि बढ्छ । न डिक दिनुपर्ने न त ह्रस्व–दीर्घ मिलाउने झन्झट †’ उनी भन्छिन् । त्यसो त कहिलेकाहीँ होमवर्क पूरा नगर्दा सजाय पाएर क्लासमा उभिइरहनुपर्दा आत्मग्लानि हुन्छ उनलाई । त्यसैले घर आएपछि खाजा, भातको धन्दा सकिएपछि होमवर्कतिर लागिहाल्छिन् । जानेको आफँै लेख्छिन्, नजानेको नातिनीसँग सिकाइमाग्छिन् । फुर्सदका बखत पतिले पनि पढाउँछन् रे अहिले त †
घरमा आउने नेता–कार्यकर्ता पनि उनले पढ्न थालेको थाहा पाएपछि थप हौस्याउँदा रहेछन् । ‘बहिनीले पढेर राम्रो काम गर्नुभयो,’ एमाओवादी अध्यक्ष प्रचण्डले भनेको सम्झिन्छिन् । नेकपा मालेका नेता सिपी मैनालीले पनि उनलाई हौस्याएका थिए । ‘ओहो † तपाईंले पढ्न थालेको थाहा पाएर म त साह्रै खुसी छु । तपाईंलाई काम लाग्ने केही पुस्तक मसँग पनि छन्, ल्याइदिन्छु है †’ यसो भनेर गएका मैनालीले अहिलेसम्म पुस्तक नल्याएको उनको गुनासो छ ।
सुष्माले पढ्न थालेको एक वर्षपछि उनकै बाटो पछ्याउँदै माओवादी नेता पोष्टबहादुर बोगटीकी पत्नी राममाया र कृष्णबहादुर महराकी पत्नी सीता पनि त्यही स्कुल भर्ना भए । राममाया पाँच कक्षामा पढ्छिन् । सीताले चाहिँ कक्षा दुईमा पढ्दापढ्दै बिरामी भएपछि छाडिदिइन् ।
पढ्न थालेदेखि सुष्मा अहिलेसम्म अनुत्तीर्ण भएकी छैनन् । पढाइमा जेहेनदार छिन् । अध्ययनलाई टुंगोमै पुर्‍याउने उनको लक्ष्य छ । पतिको व्यस्तता अहिले झनै बढेको छ । एनेकपा (माओवादी) सँग छुट्टिएर नेकपा–माओवादी खोलेका छन् । पतिको व्यस्ततामा सघाउन सुष्मा भ्याउँदिनन्, दिनहुँ होमवर्क गर्नुपर्ने चटारोले । राजनीतितिर उनको चासो घटेको छ, पढाइमै घोत्लिइरहन्छिन् ।
पतिले माक्र्सवादको सौन्दर्यशास्त्रबारे लेखेका किताब कनिकुथी भए पनि पढूँजस्तो लाग्छ उनलाई । तर, भ्याउँदिनन् । अप्ठ्यारो सुनाइन्– ‘के गर्नु आफ्ना कोर्सकै किताब पढ्न भ्याइँदैन, नत्र जाँचमा फेल भइहालिन्छ नि †’
नेता वैद्य पनि पढाइमा पत्नीले चाख दिएको देख्दा गद्गद् छन् । ‘उनको ज्ञानको क्षेत्र फराकिलो भएको छ,’ वैद्यले सौर्यसँग भने, ‘म खुसी छु ।’ पार्टी कामको चटारोले गर्दा पत्नीलाई पढाइमा सघाउन भने नसकेको उनको भनाइ छ । ‘मलाई बेलाबेला होमवर्क गर्दा पाठका कुरा सोध्छिन्,’ वैद्यले भने, ‘तर उनको पाठ कहाँ पुगेको हुन्छ, कति त आफैँले नबुझेको कुरा हुन्छ, मैले कसरी उत्तर दिनु †’ आफूले भन्दा पनि छोरीहरूले आमालाई पढाइमा सघाउने गरेको उनको भनाइ छ । एकचोटि पत्नी पढ्ने स्कुलको कार्यक्रममा जाँदा शिक्षिकासित भेट भएको र शिक्षिकाले सुष्माको मिहिनेतको तारिफ गरेको उनले सुनाए ।

अंग्रेजी नै सजिलो । स्पिलिङ जानेपछि सुइसुइ अगाडि बढ्छ
सुष्मा पोखरेल

मेरो माइती घर अर्घाखाँची । मोहन वैद्यसँग १८ वर्षको उमेरमा विवाह भयो । त्यतिबेलैदेखि उहाँ कम्युनिस्ट आन्दोलनमा हुनुहुन्थ्यो । त्यसैले म लामो समय पतिसँग बस्न पाइनँ ।
सावाँ अक्षर त माइतीमा सिकेकी थिएँ तर घरव्यवहारमा फसेपछि पढाइलाई अघि बढाउन सकिनँ । त्यसो त त्यतिबेलाका समाजमा केटी मान्छेले पढ्नु हुँदैन भन्ने थियो । बिहेलगत्तै छोराछोरी जन्मिए । पति भूमिगत राजनीतिमा भएकाले गाउँमा कष्टपूर्वक एक्लै तीन छोरी हुर्काउँदै बिते दिन ।
छोरी मात्रै जन्माएकीले पनि निकै पीडा झेल्नुपर्‍यो । ससुराका दुख्ने वचनहरू धेरै सहेँ । पारिवारिक कामसँगसँगै कम्युनिस्ट आन्दोलनमा होमिएका पतिलाई सघाउनुपथ्र्यो । सैद्धान्तिक ज्ञान नभए पनि बेलाबखत घर आउँदा उहाँले मलाई कम्युनिज्मबारे धेरै कुरा सिकाउनुहुन्थ्यो । तर, भूमिगतकालमा उहाँसित बिछोडिएर आठ वर्ष बसेँ । त्यसपछिचाहिँ छोरीहरूलाई पनि साथै लिएर उहाँसितै क्रान्तिको बाटोमा लागेँ ।
बुर्जुवा शिक्षाको विरोध गथ्र्यो उहाँहरूको सिद्धान्तले । पतिले आफ्ना छोरीहरूलाई पनि यस्तो शिक्षा पढाउन चाहनुभएन । त्यसैले उनीहरूको पढाइ बीचैमा रोकियो । आफैँ पनि क्रान्तिमा होमिएकीले यतातिर सोच्न सक्ने अवस्थै थिएन । बरु आफू जुन अवस्थामा छु, त्यहीँबाट प्रशिक्षित भएर पार्टीको काम सघाउनुपर्छ भन्ने बुझेकी थिएँ ।
शान्ति–सम्झौतासँगै सशस्त्र द्वन्द्वमा रहेका माओवादी नेताहरू सार्वजनिक भए । भारतको जेलमा रहेका मेरा पति पनि छुट्नुभयो । ०६३ मंसिरदेखि खुला जिन्दगी र राजनीति सुरु भयो । खुसियालीमा आफन्तले जमघट गराएका थिए । त्यही निम्तो मान्न पुगेका बेला आफन्त शान्ता पण्डितले सुझाउनुभयो, ‘ए फुपू, अब तपाईं पनि पढ्न थाल्नुस्, हाम्रो स्कुलमा तपाईंजस्ता बूढी मान्छे अरू पनि पढ्न आउँछन् ।’
मलाई दोधार थियो, यत्तिका समयदेखि विरोध गर्दै आएको बुर्जुवा शिक्षा कसरी पढ्ने ? त्यसो त पति भूमिगत हुँदा ससुराले ‘मेरो छोरा पढेको देखेर तेरा बाउले तँजस्ती नपढेकीलाई बिहे गरिदिएका’ भनेको पीडाले घोचिरहन्थ्यो । पतिले कम्युनिस्ट क्रान्तिबारे लेखेका थुप्रै पुस्तकको चाङ सम्याउने काम मात्रै हुन्थ्यो मेरो । त्यसभित्रको ज्ञान लिन नसकेकामा केही आत्मग्लानि पनि थियो । भूमिगत अवस्थामा भारतमा रहँदा सुनेको ‘फोर्टी फाइभ’ शब्दको अर्थ नजानेर अल्मलिएकी थिएँ । मनमनै लाग्थ्यो, ‘मैले पनि पढ्न पाएको भए पार्टीको कुनै जिम्मेवार तहमा हुन्थेँ कि †’
घर फर्किएपछि अक्षर चिन्न नसक्दाको व्यथा फुकाउँदै पतिसमक्ष आफन्तले दिएको सुझाव सुनाएँ । उहाँले अप्ठ्यारो मान्नुभयो । नेताकी पत्नी पढ्न थालिन् भनेर अनावश्यक हल्ला हुने आशंका उहाँलाई रहेछ । ‘अब कहाँ पढ्ने, चारैतिर हल्ला हुन्छ, पत्रकारले अनेक लेख्लान् †’ भन्नुभयो ।
तर, मेरो पढाइप्रतिको तीव्र इच्छा रोकिँदै रोकिएन । जतिखेरै अब कसरी स्कुल जाने होला भनेर सोच्न थालेँ । एक वर्षसम्म त्यत्तिकै बसेँ । अनि अठोट गरेँ– ‘जसरी पनि पढ्छु †’ एक दिन एक्लै चेतना महिला विद्यालय पुगेँ । ६ सय तिरेर शिशु कक्षामा भर्ना भएँ । घर फर्किएर पतिलाई सुनाएँ– ‘मैले त भर्ना गरेँ नि †’ उहाँले कुनै विरोध जनाउनुभएन । भन्नुभयो, ‘अब ठिकै छ नि त †’

प्रतिक्रिया