१ सय २० प्रहरी कारबाहीमा

काभ्रे, २०  असोज । प्रहरीको आचरणविपरीत काम गरेको भन्दै वाग्मती अञ्चल प्रहरी कार्यालयले मातहतका कार्यालयमा कार्यरत १ सय २० जना प्रहरीलाई कारबाही गरेको छ । तीमध्ये ११ जनालाई सेवाबाटै बर्खास्त गरिएको छ ।
शुक्रबार अञ्चल प्रहरी कार्यालय जनागालमा गरिएको आर्थिक वर्ष ०६८/६९ को समीक्षा कार्यक्रममा अञ्चल प्रमुख एसएसपी पशुपति उपाध्यायले प्रहरी आचरणविपरीत कार्य गर्नेलाई कारबाही गरिएको बताए । कारबाही पर्नेमा जवानदेखि अधिकृत तहसम्मका छन् । अञ्चलमातहतका कार्यालयबाट गत आर्थिक वर्षहरूमा भन्दा यो वर्ष लागुऔषध, सार्वजनिक अपराध र हातहतियार खरखजानाका मुद्दा बढेको उनले बताए । गत वर्ष पाँचवटा मात्रै दर्ता भएको लागुऔषधको मुद्दा यो वर्ष १० वटा पुगेको छ । सार्वजनिक अपराधका मुद्दा १ सय १२ बाट बढेर १ सय ५५ भएको छ । यस्तै, हातहतियार खरखजानाको अन्तर्गतको मुद्दा गत वर्ष दुईवटा मात्रै रहेकामा यो वर्ष १४ वटा पुगेको छ ।
अञ्चलमा रहेका ४० वटा प्रहरी इकाइ द्वन्द्वमा ध्वस्त भएकोमा यो वर्ष ५ वटा पुनर्निर्माणको क्रममा रहेको उनले बताए । काभ्रेको श्यामपाटी, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र धादिङमा एक/एकवटा प्रहरी इकाइ पुनर्निर्माणको अन्तिम चरणमा पुगेका छन् । यो वर्ष अञ्चल प्रहरी कार्यालय मातहतका पाँचवटा जिल्लाका प्रहरी कार्यालयले ४ सय ७१ मुद्दा फस्र्याेट गरेका छन् भने ३ सयभन्दा धेरै मुद्दा फस्र्याेटको क्रममा रहेको उपाध्यायले बताए । नागरिक सुरक्षाका लागि २५ स्थानमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । दसैँ–तिहार र संक्रमणकालको फाइदा उठाएर हुन सक्ने घटनालाई ध्यानमा राखी १ हजार १ सय ६५ प्रहरीलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
वाग्मती अञ्चल कार्यालयले काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङ जिल्ला हेर्दै आएको छ । अञ्चल मातहतका कार्यालयमा पहिले कायम रहेको प्रहरी दरबन्दीमा यो वर्ष ६२ जना थप गरी २ हजार २ सय ३२ जना पुगेको छ । यही वर्ष काभ्रे स्तरोन्नति भई एसपीको दरबन्दी भएको छ । काभ्रेमा प्रहरी उपरीक्षक गीता उप्रेती कार्यरत छिन् । उप्रेतीसँगै काभ्रेमा १४ जना प्रहरी थपिएको एसएसपी उपाध्यायले बताए । अस्थायी प्रहरी पोस्ट ११ भएकोमा काभ्रेको चण्डेश्वरी मन्दिरमा ५ जना प्रहरी राखेर १२ वटा बनाइएको छ । चण्डेश्वरी मन्दिरमा लगाइएको सुनको जलप तथा अन्य महत्त्वपूर्ण सामग्रीको सुरक्षाका लागि स्थानीयले आºनै पहलमा समेत सुरक्षा गर्दै आएका छन् ।

प्रतिक्रिया