नगरपालिकालाई अदालतको आदेश

हेटौंडा, २० असोज । पुनरावेदन अदालतले हेटौंडा नगरपालिकालाई सूचना दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमबहादुर श्रेष्ठको संयुक्त इजलासले नगरपालिकालाई सूचना दिन अन्तरिम आदेश दिएको हो ।
सूचना नपाएको भन्दै सञ्चारकर्मीले सरकारी कार्यालयविरुद्ध अदालतमा मुद्दा दिएको यो पहिलोपटक हो ।  गत असारमा निर्माणसम्बन्धी सूचना माग्न हेटौंडा नगरपालिका गएका सञ्चारकर्मी सारुलाई नगरपालिका प्रमुखले सूचना दिन अस्वीकार गरेका थिए । त्यसपछि सारुले सूचनाको हकसम्बन्धी ऐनका
आधारमा दिएको निवेदनको पनि नगरपालिकाले बेवास्ता गरेको थियो । सबै प्रक्रिया पुर्‍याउँदा पनि
सूचना नपाएपछि सञ्चारकर्मी सारुले पुनरावेदन अदालतमा सूचना दिलाइपाऊँ भनी निवेदन
दिएका थिए ।
दुवै पक्षलाई बोलाएर छलफल गरेपछि नगरपालिकालाई अदालतले सूचना दिन आदेश गरेको हो । हेटौंडा नगरपालिका र कार्यकारी अधिकृत टेकराज निरौलाले अदालतले मागेको लिखित स्पष्टीकरण पेस नगरेका कारण मुद्दा किनारा लाग्न ढिलाइ भएको छ । अदालतले कार्यकारी अधिकृत निरौलालाई सरकारी वकिलसहित आफँै स्पष्टीकरण दिन उपस्थित हुन भने पनि सरकारी वकिल मात्र पठाएका थिए ।
अदालतले अन्तरिम आदेशले जनताको सूचना पाउने हकलाई थोरै भए पनि प्रत्याभूत गरेको सञ्चारकर्मी सारुले सौर्यलाई बताए । निवेदक सञ्चारकर्मी मगरको तर्फबाट पुनरावेदन बार एसोसिएसन हेटौंडाका अध्यक्ष मदन दाहालले बहस गरेका थिए भने नगरपालिकाको तर्फबाट मुकुन्द अधिकारी बहसमा सहभागी थिए ।

प्रतिक्रिया