रोनाल्डोको हयाट्रिकमा रियलको जित


म्याड्रिड, १८ असोज । इंग्लिस प्रिमियरसिप क्लब आर्सनल युरापेली च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पार्न सफल भएको छ । समूह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा आर्सनलले ओलम्पियोकासलाई ३–१ ले पराजित गर्‍यो । आर्सनलका लागि दोस्रो हाफमा लुकास पोडोल्स्की र आरोन राम्सकीले गोल गरे । ४२आँै मिनेटमा गर्भिन्होले गोल गर्दै आर्सनललाई अग्रता दिलाए भने त्यसको लगत्तै कोन्स्टानिटाउनिस मिट्रोगलुउले गोल गरे । जितसहित आर्सनल समूहमा ६ अंकसहित शीर्षस्थानमा छ । सोही समूहको अर्को खेलमा ५२आँै मिनेटपछि १० खेलाडीमा सीमित भएको मोन्टेपिलरले साल्के ०४ लाई २–२ को बराबरीमा रोक्यो । पहिलो खेलमा विजयी साल्के यस नतिजापछि चार अंकसहित दोस्रो स्थानमा छ ।
आर्सनलले विजयी यात्रा कायम राखेको दिन अर्को इंग्लिस क्लब तथा घरेलु लिग च्याम्पियन म्यानचेस्टर सिटी भने बराबरीमा रोकियो । समूह ‘डी’ अन्तर्गत म्यान सिटी जर्मन क्लब बोरुसिया डर्टमन्डसँग १–१ को बराबरीमा रोकियो । ९०औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरबाट म्यान सिटीले समूहमा पहिलोपटक अंक लिएको हो । दोस्रो हाफमा मैदान छिरेका मारियो बालोटेलीले पेनाल्टी अवसर सदुपयोग गरे । मार्को रेउसले ६१आँै मिनेटमा गोल गरेपछि घरेलु लिग च्याम्पियन डर्टमन्ड सुरुआती अग्रता लिन सफल भएको थियो । म्यान सिटीले पहिलो खेलमा रियल म्याड्रिडविरुद्ध पराजय सामना गरेको थियो ।
स्पेनिस लिग च्याम्पियन रियलले पछिल्लो समय समातेको लयलाई कायम राख्दै आयाक्सलाई ४–१ ले पराजित गर्‍यो । घरेलु लिगमा हयाट्रिक गरेको एक साता पनि नबित्दै क्रिस्टियानो रोनाल्डोले रियलका लागि लगातार दोस्रो खेलमा हयाट्रिक पूरा गरे । थप एक गोल करिम बेन्जिमाको नाममा रहयो । आयाक्सका लागि निकोलास डसटलरले गोल गरे । जितसहित रियल ६ अंकसहित  पहिलो स्थानमा छ । यसै साता स्पेनिस लिगमा बार्सिलोनासँग भिड्न गइरहेको रियलले त्यसका लागि राम्रो तयारी गरेको छ । रियल र उसका मुख्य हतियार रोनाल्डो लयमा फर्किसकेका छन् । बुधबार राति गरेको हयाट्रिक सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल आएयता च्याम्पियन्स लिगमा रोनाल्डोको पहिलो र समग्रमा रियलका लागि १७औँ हयाट्रिक हो ।
एसी मिलानले पेरिस सेन्ट पिटर्सवर्गलाई ३–२ ले पराजित गर्‍यो । खेलमा २–० ले पछि परे पनि २–२ को स्थितिमा पुगेको पिटर्सवर्ग टोमास हुबोकनले ७५आँै मिनेटमा आत्मघाती गोल गरेपछि हार व्यहोर्न पुग्यो भने इटालियन लिग च्याम्पियन एसी मिलान पहिलो जित हात पार्न सफल भयो ।
सातपटकको युरापेली विजेता एसी मिलानले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । १२औँ मिनेटमा उर्बी एमालु एस्लनले मिलानलाई अग्रता दिलाए भने त्यसको तीन मिनेटपछि स्टिफन अल साराबीले गोल गरे । पहिलो हाफको अन्त्यतिर गोल गरी हल्कले पिटर्सवर्गलाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनले ४५आँै मिनेटमा गोल गरेका थिए । ४९आँै मिनेटमा हल्कको पासमा रोमन सरिकाभले गरेको गोलमार्फत पिटर्सवर्ग बराबरीमा आएको थियो । समूह ‘सी’ मा पहिलो खेल बराबरी खेलेको एसी मिलान दुई खेलबाट चार अंक जोड्दै दोस्रो स्थानमा छ । सोही समूहको अर्को खेलमा बुधबार राति एन्डरलेच्टलाई ३–० ले हराएको स्पेनिस क्लब मालागा ६ अंकसहित शीर्षस्थानमा छ ।
प्रतियोगितामा स्पेनिस क्लबहरूको राम्रो प्रदर्शन कायम रहेको छ । बार्सिलोना पनि शत प्रतिशत नतिजा निकाल्दै शीर्षस्थानमा छ । भ्यालेन्सियाले मात्र हार व्यहोरेको छ ।

प्रतिक्रिया