नेपालीहरू राति होइन, दिउँसै क्यासिनोमा

काठमाडौं, १९ असोज । राजधानीका क्यासिनोमा जुवा खेल्न जाने नेपालीले ‘ट्रेन्ड’ परिवर्तन गरेको पाइएको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा रहेको क्यासिनो अन्नाबाट बिहीबार दिउँसै २८ नेपाली नागरिक पक्राउ परेपछि ट्रेन्ड परिवर्तनको पुष्टि भएको हो ।
क्यासिनोमा नेपाली छिर्ने गरेको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली बुधबार राति ११ बजे राजधानीका सातवटै क्यासिनोमा छापा मार्न पुगेको थियो । त्यसबेला दुईजना नेपाली मात्र क्यासिनोमा फेला परेका थिए । बिहीबार दिउँसो भने क्यासिनो अन्नामा छापा मार्दा एकै खालबाट २८ नेपाली पक्राउ परेका हुन् । परिसर प्रमुख जयबहादुर चन्दले राजधानीमा क्यासिनो छिर्ने नेपालीले ‘ट्ेरन्ड’ बदल्ने गरेको बताए । भने, ‘बुधबार बेलुका पनि क्यासिनोमा छापा हानियो तर कोही भेटिएन, आज (बिहीबार) दिउँसै छापा हान्दा यति धेरै जुवाडे भेटिए, यसले के पुष्टि गर्छ भने, नेपालीले क्यासिनो छिर्ने ‘ट्रेन्ड’ बदले ।’ चन्दका अनुसार बुधबार क्यासिनोमा छापा मार्दा चिनिया र भारतीय नागरिक धेरै भेटिएका थिए ।
प्रहरीले अन्नामा बिहीबार दिउँसो साढे तीन बजेदेखि आधा घन्टाको अवधिमा छापा हानेको थियो । छापा हान्दा समातिएकाहरू ३४ वर्षीय नवीन्द्र चौलागाई, २७ वर्षीय रामकाजी केसी, ३० वर्षीय ङिमा दोर्जे, ३० वर्षीय दीपेन्द्रकुमार चौधरी, ३२ वर्षीय सुरेन्द्र तामाङ, ४८ वर्षीय मंगल जोशी, ३५ वर्षीय पुरुषोत्तम दाहाल, २९ वर्षीय धोर्जे लामा, ३० वर्षीय नवराज लामा,  ३३ वर्षीय नवीन थापा, ३० वर्षीय बलराम तिवारी, २९ वर्षीय रुपक थापा, ३४ वर्षीय रेशम खतिवडा, ४० वर्षीय तेजस्वी नेपाल छन् । त्यस्तै, ३३ वर्षीय ललिजन विष्ट, ३५ वर्षीय सहनशील घिमिरे, २३ वर्षीय सावित्रा राई, ३६ वर्षीय पुष्पा केसी, ३१ वर्षीय विकास लामिछाने, ३८ वर्षीय दीपेन कन्दङवा, ४७ वर्षीय लोसाङ लामा, २९ वर्षीय विनोद साह, २९ वर्षीय प्रलाद केसी, २९ वर्षीय प्रकाश पण्डित, ३० वर्षीय श्याम बस्नेत, २६ वर्षीय  दीपक पुन, २६ वर्षीय मोहन चौहान र ४५ वर्षीय चेतकुमार शेरचन पक्राउ परेका हुन् ।
उनीहरूबाट प्रहरीले क्यासीनो अन्ना लेखिएको हजार दरका क्वाइन ८ वटा, सय दरको १५ वटा  र ३५ हजार रुपैया बरामद गरेको छ । एसएसपी चन्दका अनुसार विगतमा नेपालीहरू मध्यरातमा क्यासिनो जाने गरेका थिए । प्रहरीबाट समातिने डर भएपछि उनीहरू रातिको साटो दिउसो ३ देखि ५ बजे क्यासिनो छिर्ने गरेको पाइएको उनले बताए । भने, ‘राति पक्राउ परिने तर दिउसो ३ देखि ५ बजेको समयमा प्रहरीको ध्यान त्यसतर्फ नजाने देखेपछि उनीहरू उक्त बेला क्यासिनो छिर्ने गरेको पाइयो ।’ पक्राउ परेका सबैजनालाई जुवा ऐनअन्तर्गत कारबाही गरिने उनले बताए ।

प्रतिक्रिया