गच्छेदार विरुद्ध सुदूरपश्चिम आक्रोशित

कैलाली, १८ असोज । उपप्रधान एवं गृहमन्त्री विजय गच्छदारले अखण्ड सुदूरपश्चिमको विपक्षमा अभिव्यक्ति दिए पछि आक्रोशित स्थानीयले आज धनगढीका सम्पूर्ण सरकारी कार्यालय बन्द गराईदिएका छन् ।
बन्दका क्रममा उनीहरुले सरकारी सवारी साधनलाई पनि आवागमनमा अबरोध पुराईएको छ । सरकारी कार्यालयमा तालाबन्दी भएपछि सेवाग्राही प्रभावित भएका छन् ।
सुदूरपश्चिमबाट कैलाली र कञ्चनपुर जिल्ला टुक्राएर थरुहट प्रदेश बनाउने विवादास्पद अभिव्यक्ति दिए पछि कैलालीमा आक्रोश उत्पन्न भएको हो ।
मंगलबार फुलवारीमा गच्छेदारले संघीय राज्य निर्माण गर्ने क्रममा कैलाली र कञ्चनपुरलाई थरुवान राज्यमा राख्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति फिर्ता लिनुपर्ने अखण्ड सुदूरपश्चिम एकता समाजको माग छ ।
समाजका हरि रेग्मीले कैलालीमा आएर स्थानीयको भावना विपरित अभिव्यक्ति दिने गच्छेदारले माफि नमागे सम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
नारावाजी सहित पुगेका बन्दकर्ताले विभिन्न सरकारी कार्यालयमा तालाबन्दी गरे पछि कामकाज प्रभावित भएको छ । तलाबन्दी गर्ने क्रममा उनीहरुले कर्मचारीलाई बाहिर निकालेका थिए ।

प्रतिक्रिया