काठमाडौं, १७ असोज । नेपाली कांग्रेसले आदिवासी जनजाति नेताहरुका मागलाई लोकतान्त्रिक र संवैधानिक रुपमा पुरा गर्न तयार रहेको जनाएको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बसेको पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकले जनजातिका मुद्दा र मागलाई जायज ठहराउँदै लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्ने निष्कर्ष निकालेको हो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस नेता शेरबहादुर देउवाले आदिवासी जनजाति नेताहरुका मागप्रति पार्टी सधैं सकारात्मक रहेको बताए । ‘आदिवासी जनजातिका माग र मुद्दाप्रति कांग्रेस गम्भीर छ,’ उनले भने, ‘पार्टीमा परामर्श गरेर जायज माग पुरा हुन्छन् ।’
जातीय राज्य, संघीयता, अधिकारलगायतका माग उठाएर केही जनजाति नेताहरुले पार्टी परित्याग गर्ने तयारी गरे पछि कांग्रेसले सो विषयमा अध्ययन एवम् परामर्शहरु थालेको हो ।
यसैबीच, आदिवसी जनजाति नेताहरुको मागका विषयमा रायसुझाव तयार पार्न गठित केन्द्रीय सदस्य भीमबहादुर तामाङ नेतृत्वको समितिले पनि आजै आफ्नो प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन सकारात्मक रहेको जनाएका कांग्रेस नेता देउवाले छलफल गरेर कार्यान्वयनमा लैजाने बताए । कांग्रेसका पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक भोली बिहीबार पनि बस्ने छ ।
प्रतिक्रिया