गुल्मी, १७ असोज । एकीकृत माओवादीका गाउँस्तरका नेताको मिलेमतोमा गाविसको सहकारीको रकम हिनामिना भएको छ ।
पुर्कोट दह गाविसमा सुपथ सामग्री उपलब्ध गराउनका लागि ०६६ सालमा स्थापना भएको सहकारीको करिब दुई लाख रुपियाँ माओवादीका तीनजना स्थानीय नेताले खाएको सेयर सदस्यले बताएका छन् । पुर्कोट दह गाविसमा कुनै पनि सहकारीको अस्तित्व नै छैन । सहकारीको पसल सञ्चालन गरिएको ठाउँ अहिले जुत्ता सिउने ठाउँमा परिणत भएको छ । सेयर खरिदबाट संकलन भएको करिब ७२ हजार र कृषि विकास कार्यालयले अनुदान उपलब्ध गराएको एक लाख रुपियाँको अझैसम्म कुनै पनि अभिलेख नभेटिएको सेयर सदस्य कमल थापाले बताए । उनले भने, ‘सुरुमा सहकारीले पसल पनि सञ्चालन गरेको थियो तर अहिले आफ्नै पार्टीका नेताले सहकारी सिध्याएकामा दु:ख लाग्यो ।’
स्रोतअनुसार सहकारीका अध्यक्ष शेरबहादुर कुँवर, सचिव रेशम जिसी र पसल सञ्चालक वसन्त नेपालीको मिलेमतोमा सहकारीको सबै पैसा तहसनहस भएको छ । सहकारी अस्तव्यस्त भए पनि आफ्नै पार्टीका मान्छे जिम्वेवार पदमा रहेकाले भन्न नमिल्न माओवादी नेता दशरथ घिमिरेले बताए । गाविसको सहकारी भन्दै सर्वसाधारणबाट पैसा उठाएर ठूलाबडाले पेट भर्न खोजेको आरोप सेयर सदस्य हुमबहादुर थापाको छ । सहकारीका अध्यक्ष कुँवरले केही समयमा हिसाबकिताब सार्वजनिक गर्ने बताउँदै थप कुरा बोल्न नमिल्ने प्रतिक्रिया दिए ।
पञ्चशीलको साधारणसभा
काठमाडौं : कुमारीपाटीस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औँ साधारणसभा सम्पन्न भएको छ ।
आर्थिक वर्ष ०६८/६९ मा ६६ लाख नौ हजार ५ सय ९४ रुपिँया नाफा आर्जन गरेको संस्थाका अध्यक्ष राजु खतिवडाले बताए । संस्थाले साउनदेखि खानेपानी परियोजनाअन्तर्गत ललितपुरको गोदावरीमा मिनरलवाटर परियोजना सञ्चालन गरेको पनि उनले जानकारी दिए । कार्यक्रममा क्रषि प्याकुरेल, रिना शाक्य र पूजा श्रेष्ठलाई उत्कृष्ठ कर्मचारीबाट पुरस्कृत गरिएको थियो भने तीनजना उत्कृष्ठ सदस्यलाई कदरपत्र प्रदान गरिएको थियो । संस्थाले कृषि क्षेत्रमा लगानी गर्ने नीति अख्तियारी गरेको छ ।
आह्वानको एक करोड सेयर पुजी
काठमाडौं : आह्वान बचत तथा ऋण सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ऋतुप्रसाद गडतौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा एक करोड २५ लाख ३९ हजार चार सय सेयर पुँजी रहेको छ । संस्थाले आर्थिक वर्ष ०६८/६९ मा १० करोड ३० लाख ७८ हजारको कारोबार गरेको थियो । सो अवधिमा नौ करोड, २४ लाख चार हजार सात सय ५४ रुपियाँ बचत संकलन गरी सात करोड ५५ लाख १५ हजार ६ सय ३२ कर्जा लगानीबाट १७ लाख २८ हजार तीन सय १४ रुपियाँ खुद नाफा कमाउन सफल भएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया