पहिरोले पाँच गाडी पुर्‍यो

इलाम, १६ असोज । मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ स्थित हर्कटे–हाँसपोखरी खण्डमा मुसलधारे वर्षासँगै गएको पहिरोमा सवारीसँगै पुरिएका सातजनाको मृत्यु भएको छ भने आठजना अझै बेपत्ता छन् । उद्धारमा संलग्न टोलीले घटनास्थलमा सातजनाको शव फेला पारेको हो ।

भेटिएका शवमध्ये फिक्कल–९ इलामका ४१ वर्षीय शरण प्रधान र भारत दार्जिलिङ सुखियापोखरीका दावा शेर्पाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । अन्य मृतकको अनुहार र शरीरमा गहिरो चोट लागेका कारण चिन्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गणेश बाँस्तोलाले बताए । कोल्बुङ–१ मा पर्ने हाँसपोखरीमा करिब पाँच सय मिटरको पहिरो झरेर सवारी पुरिँदा त्यहाँ रहेका आठ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको बाँस्तोलाले जानकारी दिए ।
आइतबार राति करिब साढे आठ बजे खसेको पहिरोले दुईवटा सवारीसाधन बगाएको थियो भने तीनवटा पुरेको थियो । घटनास्थलमा एउटा मोटरसाइकल पनि क्षतिग्रस्त अवस्थामा भेटिएकोले बेपत्ता हुनेको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
सडकबाट करिब दुई सय मिटरमाथिबाट झरेको पहिरोले मे १ त १२५६ नम्बरको सेन्ट्रो कार बगाउँदा चालकसहित आठ यात्रु बेपत्ता भएका थिए जसमध्ये दावा शेर्पाको शव पहिचान भएको छ । अन्य बेपत्ता हुनेमा कारका चालक फिक्कल–९ का अजित यल्मु, भारत दार्जिलिङ सिमाना सुखिया पोखरीका आरती शेर्पा, छिरिङ केसाङ, विश्वराज मुखिया, नामगेल भोटिया, छोटेन भोटिया र याङगिल शेर्पा रहेको प्रहरीले जनाएको छ ।
पहिरोले इलामबाट झापा जाँदै गरेको मे १ त ११९१ नम्बरको अल्ट्रो कार पनि बगाएको थियो । कारमा सवारमध्ये फिक्कल–९ का शरण प्रधानको शव पहिचान भएको छ । अन्य समाल्बुङ–१ का ३० वर्षीया मन्दिरा प्रधान, ३५ वर्षीय सुवास प्रधान र ३५ वर्षीय पदम प्रधान बेपत्ता छन् । कारचालक सूर्यविक्रम श्रेष्ठको उद्धार गरेर उपचारका लागि झापा पठाइएको छ ।
पहिरोले को १ च १६१९ नम्बरको ट्रक पनि पुरेको थियो । ट्रकका सहचालक ताप्लेजुङका १७ वर्षीय सरोज तामाङ बेपत्ता छन् । पहिरोमा परी मे १ त २६१९ नम्बरको पिकअप भ्यानबाट भ्यानका मालिक फिक्कल–३ का रवि गुप्ता बेपत्ता छन् । यस्तै को १ ख १६१३ नम्बरको ट्रक पुरिएको प्रहरी निरीक्षक गणेश बाँस्तोलाले बताए । पहिरोले बगाएका सवारीसाधन टुक्राटुक्रा भएका छन् भने पुरिएका सवारी किच्चिएका छन् ।
यसैबीच, पहिरोले बगाएर विरिङखोलामा एकजनाको शव फेला परेको प्रहरीले जनाएको छ । शव त्यही पहिरोले बगाएर लगेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको जानकारी पाएपछि फिक्कलस्थित सशस्त्र प्रहरी, जिल्लास्थित सशस्त्रको श्रीअन्तु गुल्म र जिल्ला प्रहरी कार्यालयबाट राति नै प्रहरीको टोली पुगेको थियो । राति राम्रोसँग उद्धार हुन नसके पनि बिहानैदेखि स्थानीयसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रको टोली उद्धारमा खटेका थिए । पहिरोबाट अवरुद्ध सडक दिउँसो २ बजेबाट सुचारु भएको थियो ।

प्रतिक्रिया