तीन दशकपछि ढक तराजुको अनुगमन

ताप्लेजुङ, १२ असोज । ताप्लेजुङमा तीन दसकपछि ढक–तराजुको अनुगमन भएको छ । उद्योगवाणिज्य संघ ताप्लेजुङको पहलमा गुणस्तर तथा नापतौल पूर्वक्षेत्रीय कार्यालय विराटनगरबाट आएको टोलीले करिब २५ वर्षपछि अनुगमन तथा निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा सदरमुकाम फुङ्लिङ बजारका व्यापारी र व्यवसायीले प्रयोग गर्दै आएका ढक–तराजु अधिकांश धेरै पहिलेदेखि प्रयोगमा ल्याइएकाले कम परिमाण भएको पाइएको छ ।
अनुगमनमा आएका गुणस्तर तथा नापतौल पूर्वक्षेत्रीय कार्यालय विराटनगरका सहायक निरीक्षक हरिप्रसाद उपाध्यायका अनुसार व्यवसाय दर्ता गरेको ३५ दिनभित्र गुणस्तर तथा नापतौल पूर्वक्षेत्रीय कार्यालयमा नवीकरण गर्नुपर्ने, ढक–तराजु हरेक वर्षमा जाँच गर्नुपर्ने हुन्छ । सुनजन्य धातु साथै मिल, पम्पआदिमा प्रयोग गरिने मेसिन तथा ढक–तराजु एक वर्षमा र किराना, हार्डवयरलगायत वस्तुको नापतौलमा प्रयोग हुने ढक–तराजु दुई–दुई वर्षमा निरीक्षण गर्नुपर्ने प्रावधान रहेको उपाध्यायले बताए ।
लामो समयसम्म नवीकरण नगरिएको भए पनि उनीहरूलाई लाग्ने जरिबाना दस्तुरभन्दा कम मात्र रकम लिएर नवीकरण गर्ने गरेको पनि उपाध्यायले बताए । यसअघि लामो समयदेखि ढक–तराजुको निरीक्षण नहुँदा आफूहरू ठगिने गरेको उपभोक्ताले गुनासो गर्दै आएका छन् । सदरमुकाम फुङ्लिङ बजार तथा जिल्लाभित्रका अन्य बजार र व्यापारिक केन्द्रमा ढक–तराजुको समय–समयमा निरीक्षण नहुँदा उपभोक्ता ठगिने क्रम बढ्दै गएको थियो । उपभोक्ताको गुनासो बढ्दै गएपछि वाणिज्य संघकै पहलमा यसको निरीक्षण थालिएको उद्योगवाणिज्य संघ ताप्लेजुङले जनाएको छ । संघका अध्यक्ष तारानाथ घिमिरेले केही दिनमै ढक–तराजु अनुगमनको काम सकिने बताए । सबै  उपभोक्तालाई सहुलियत दिन र मारमा नपरुन् भन्ने उद्देश्यले व्यवस्थापन खर्च संघले बेहोर्ने गरी निरीक्षण टोली ल्याई काम थालेको घिमिरेले जानकारी दिए ।
उपाध्यायसहित प्राविधिक रामजी महतोको टोलीले व्यवसायीले प्रयोग गर्ने ढक–तराजुको निरीक्षण गरिरहेका छन् । अहिले जिल्ला सदरमुकाम फुङ्लिङमा मात्रै सात सय ५० बढी पसल छन् । अन्य ग्रामीण क्षेत्रका स–साना व्यापारिक केन्द्र तथा बजारमा रहेका करिब दुई सय ५० वटा पसलसमेत गरेर जिल्लामा एक हजार बढी पसल रहेको तथ्यांक छ ।

प्रतिक्रिया