सरकार बनाउन कांग्रेसले पहल गरेनः खनाल

काठमाडौं, १० असोज । एमालेका अध्यक्ष झलनाथ खनालले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन खासै पहल नगरेको आरोप लगाएका छन् ।
भारतबाट स्वदेश फिर्ता भएका खनालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरागर्दै उनले एमाले सहमतीय सरकारको नेतृत्व कांग्रेसले गरोस् भन्ने चाहना रहेको बताए । उनले भने, ‘यसअघि आफूहरुले कांग्रेसले नेतृत्व गरोस् भन्ने चाहे पनि उसले आवश्यक भूमिका खेल्न सकेको छैन ।’
उनले राष्ट्रिय सहमतिको सरकार निर्माणमा आफूहरु खुल्ला रहेको दोहराए । ‘अहिलेको संकट निवारणका लागि पहिलो आवश्यकता राष्ट्रिय सहमतिको सरकार हो,’ उनले भने, ‘सहमतिमा जोसुकैको नेतृत्वमा पनि सरकार गठन हुन सक्छ ।’
अध्यक्ष खनालले राष्ट्रिय सहमतिको सरकार गठनका लागि एकीकृत माओवादी तयार नरहेको बताए । उनले भने, ‘एकीकृत माओवादीले वार्ताबाट समस्याको समाधान नरोजे आन्दोलनले सरकार विस्थापित गर्छौं ।’

प्रतिक्रिया