भारतीय सवारी साधन र चलचित्रमा अबरोध

काठमाडौं, १० असोज । नेकपा–माओवादीले भारतीय नम्वरका सवारी साधन र चलचित्रहरुको सार्वजनिक प्रदर्शनमा भोली बिहीबारदेखि रोक लगाएको छ ।
नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले आज विज्ञप्ति जारी गरेर नेपाल भित्र रहेका भारतीय नम्वर प्लेटका सवारी साधनलाई चल्न अवरोध गर्ने निर्णय गरेको जनाएकी छन् । उनले स्वदेश फिर्ता हुन चाहने भारतीय नम्वर प्लेटका सवारी साधनलाई कुनै अवरोध नरहेको पनि उल्लेख गरिन् ।
‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास, नेपाली नागरिकको रोजगारीको संरक्षण, नेपाली लगानीको सदुपयोग र भारतमा नेपाली यातायात सञ्चालनमा रोकले असमानता पैदा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘असमानतालाई समेत ध्यान दिई हाम्रो पार्टी नेकपा–माओवादीले असोज–११ गतेदेखि नेपाल भित्र भारतीय नम्बर प्लेटका गाडीहरु चल्न नदिने निर्णय गरेका छ ।’
त्यसैगरी नेकपा–माओवादीले हिन्दी चलचित्रहरुले नेपाल र नेपालीप्रति अपमान गर्ने, वितृष्णा जगाउने, अश्लिल तथा साँस्कृतिक विकृति फैलाउने कार्य गरेको आरोप लगाएको छ । उसले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको पनि जनाएको छ ।
‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको समृद्धि, राष्ट्रिय स्वाधीनता र सम्मानको हाम्रो अभियानमा सम्पूर्ण देशभक्त, व्यवसायी र आम नागरिकहरुलाई सहयोग र समर्थनको लागि अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
नेकपा–माओवादीले नेपाल भित्राईएका यातायातका साधनहरुलाई भारत फर्कन भने कुनै अवरोध नगरिने जनाएको छ । पार्टीको निर्णयलाई अवज्ञा भए कारबाही गर्ने समेत नेकपा–माओवादीले चेतावनी दिएको छ ।

प्रेस वक्तव्य

राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास, नेपाली नागरिकको रोजगारीको संरक्षण, नेपाली लगानीको सदुपयोग र भारतमा नेपाली यातायात संचालनमा रोकले पैदा गरेको असमानतालाई समेत ध्यान दिई हाम्रो पार्टी नेकपा–माओवादीले असोज ११ गतेदेखि नेपाल भित्र भारतीय नम्बर प्लेटका गाडीहरु चल्न नदिने निर्णय गरेको छ ।
यसैगरी नेपाल र नेपालीप्रति अपमान गर्ने, वितृष्णा जगाउने, अश्लिल तथा साँस्कृतिक विकृति फैलाउने हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ । राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको समृद्धि, राष्ट्रिय स्वाधीनता र सम्मानको हाम्रो अभियानमा सम्पूर्ण देशभक्त, व्यवसायी र आम नागरिकहरुलाई सहयोग र समर्थनको लागि अपील गर्दछौं । नेपाल भित्र्याइएका यातायातका साधनहरुलाई भारत फर्कन भने कुनै अवरोध गरिने छैन ।
मिति :– २०६९/०६/१०

पम्फा भुसाल
प्रवक्ता

नेकपा–माओवादी

प्रतिक्रिया