मनसुन नसकिँदै चिसो

काठमाडौं, १० असोज । विगतमा भन्दा एक सातापछि धकेलिएको यो वर्षको मनसुन सकिन केही दिन बाँकी रहे पनि काठमाडौंमा बिहान–बेलुका चिसो हुन थालिसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई साताअघि तीन दिन लगातार परेको झरीसँगै न्यूनतम तापक्रम घट्नाले मनसुन सकिनुअगावै चिसो सुरु भएको हो ।
‘२० र २१ डिग्री सेल्सियसबीच रहने न्यूनतम तापक्रम झरीसँगै १८ डिग्रीभन्दा तल झरेपछि बिहान–बेलुका चिसो महसुस भएको हो,’ विभागका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले सौर्यसँग भने, ‘यो जाडो सुरु भएको संकेत हो ।’ उनले मनसुन फर्किने प्रक्रियामा रहेको र सूर्य दक्षिणतिर सर्न थालिसकेकाले अब जाडो बढ्ने बताए । १० सेप्टेम्बरमा २०.२ डिग्री सेल्सियसमा रहेको न्यूनतम तापक्रम घटेर मंगलबार १७.६ डिग्रीमा झरेको छ ।
मनसुन २३ सेप्टेम्बरमा सकिनुपर्ने भए पनि भारतको विहारमा न्यूनचापीय क्षेत्र पर्दा अघिल्लो साता नेपालमा भारी वर्षा भएपछि यस वर्ष एक सातापछि सकिने अनुमान मौसमविद्ले गरेका छन् । ‘चिसो सुरु भइसक्यो तर मनसुन बल्ल फर्कने क्रममा छ,’ वरिष्ठ मौसमविद् श्रेष्ठले भने, ‘मनसुन सकिन दुई चार दिन अझै लाग्छ होला ।’
श्रेष्ठका अनुसार सुदूरपश्चिम भेगबाट मनसुन फर्केर पूर्व लागिसकेकाले त्यहाँ सुख्खायाम सुरु भइसकेको पाँच दिन बितिसकेको छ । त्यस्तै पश्चिमाञ्चल भेगमा समेत वर्षा रोकिसकेको छ । बाँकी मध्य र पूर्वका केही भेगमा बादल र छिटफुट वर्षा रहेकाले दुईचार दिनमा मनसुन बाहिरिने अनुमान मौसमविद्को छ ।
१० जुनलाई मनसुन सुरु हुने औसत समय मानिन्छ तर यो वर्ष त्यसको एक सातापछि मात्रै नेपालमा मनसुन भित्रिएको थियो । मनसुन अन्त्यतिर भारी वर्षा भएपछि सेप्टेम्बरमा काठमाडौंमा औसत १९९.८ मिलिमिटर वर्षा हुनुपर्नेमा त्यसको दुई सय प्रतिशत बढी वर्षा भएको छ । देशभर भएको वर्षाको विवरण मनसुन सकिएपछि अक्टुबरमा आउने विभागले जनाएको छ । बंगलादेश, भारत हुँदै पूर्वी नेपालबाट भित्रिने बंगालको खाडीदेखि आएको मनसुनी वायु फर्किने क्रममा त्यसको ठीक उल्टो पश्चिमबाट पूर्व हुँदै बाहिरिन्छ । नेपालमा मनसुन अवधिमा औसत एक हजार तीन सय २५ मिलिमिटर वर्षा हुन्छ ।
मनसुन नसकिँदै बिस्तारै न्यूनतम तापक्रम घटेर काठमाडौं उपत्यकामा सुरु हुने चिसो भने मंसिर, पुस र आधा माघमा सबैभन्दा चुचुरोमा पुग्छ । जाडोयाममा उपत्यकामा सबैभन्दा कम तापक्रम ०३४ पुसमा माइनस तीन डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रतिक्रिया