पोस्टमार्टम रिपोर्ट बिगारेको भन्दै डाक्टर घेराउ

जाजरकोट, १० असोज । हुम्ला सदरमुकाम सिमिकोटमा मंगलबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन् । सदरमुकाम सिमिकोटस्थित बालमन्दिरनजिकै पसल सञ्चालन गर्दै आएकी गोठी–३, पुमाकी ३९ वर्षीया लक्ष्मी बुढा मंगलबार बिहान करिब १ बजेतिर आफ्नै कोठामा मृत अवस्थामा फेला परेको हुम्ला प्रहरीले जनाएको छ ।

उनी सिमिकोट–४ स्थित आफ्नै घरको गोदामकोठाका मृत अवस्थामा भेटिएको हुम्ला प्रहरीलाई उद्धृत गर्दै स्थानीय पत्रकार नवराज बुढाथोकीले टेलिफोन सम्पर्कमा बताए । उनका अनुसार बुढाको शवलाई मंगलबार नै जिल्ला अस्पताल सिमिकोटमा पोस्टमार्टममा गरिएको छ ।
पोस्टमार्टमको रिपोर्ट चित्तबुझ्दो नभएको भन्दै जिल्लाका केही अगुवा महिला र मृतकका आफन्तले शवको पोस्टमार्टम गर्न सिमिकोटमा आएकी मध्यपश्चिमाञ्चल अस्पताल सुर्खेतकी डा. दीक्षा खनाललाई घेरेका छन् । जिल्लाका महिला अधिकारकर्मी र आफन्तले रिपोर्टको सत्यता नभएको भन्दै यथार्थ बताउन आग्रह गर्दै डा. खनाललाई घेराउ गरेका हुन् । उनले पोस्टमार्टमको रिपोर्टझैँ मृतकले आत्महत्या नगरी कसैले हत्या गरेकोसमेत जिकिर गरेका छन् ।
मंगलबार बिहानै शवको लागि पोस्टमार्टम गर्न हवाईजहाजबाट सिमिकोट आएकी डा. खनालले झन्डै एक घन्टा लगाएर गरेको शवको पोस्टमार्टमको रिपोर्टमा मृतकले पासो लगाएर आफैले आत्महत्या गरेको बताएकी छन् ।
उनका अनुसार उनले तयार गरेको रिपोर्टमा घाँटीमा बाँधेर सास फेर्न नसक्दा र घाउ भई रगत धेरै बगेका कारण मृत्यु भएको उल्लेख छ । उनलाई घेराउ गर्न आएका महिला अगुवा तथा आफन्तसँग रिपोर्टका बारेमा स्पष्टीकरण दिँदै डा. खनालले लामो समयदेखि तनावमा भएको र पारिवारिक विवादमा पतिले चक्कुले हानेर रक्तश्रावसमेत भएको बताएकी छन् । आफू पहिलोपटक आएको र कसैसँग चिनजान नभएकाले जे देख्यो त्यही लेखेको उल्लेख गर्दै मृतकको शरीरमा गहिरो चोटसमेत लागेको आफूले उल्लेख गरेको बताएकी छन् ।
घटनाबारे जिल्ला प्रहरी कार्यालयले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सोमबार पतिपत्नीसहित घरका आफन्तले खाना खाएर आफ्नो कोठामा गएको र राति एकाएक त्यस्तो घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका इन्स्पेक्टर नरबहादुर विष्टलाई उद्धृत गर्दै पत्रकार नवराज महताराले टेलिफोन सम्पर्कमा जानकारी दिए ।
मृतक बुढाको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि मृतक बुढाका पति कर्णजित बुढा, बहिनी हिमानी बुढा र निजको घरमा भाडामा बस्दै आएकी गुर्मु लामालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया