१८ असोजमा पार्टी छाड्दै असन्तुष्ट एमाले नेता

काठमाडौं, ८ असोज । उपाध्यक्ष अशोक राईसहित असन्तुष्ट एमाले नेताहरूले आगामी १८ असोजमा सामूहिक रूपमा पार्टी त्याग गर्ने भएका छन् । ‘अग्रगामी विचार समूह’ बनाएर अन्तरसंघर्ष गरिरहेका केन्द्रीय समितिका सातसहित देशभरिका नेताहरूले सामूहिक रूपमा पार्टी छाड्न लागेका हुन् ।

पार्टी परित्यागका लागि ‘अग्रगामी विचार समूह’ले १८ असोजमा राष्ट्रिय भेला बोलाएको छ । स्रोतका अनुसार भेलाबाट उपाध्यक्ष राईसहित पोलिटब्युरो सदस्य रामचन्द्र झा, वैकल्पिक पोलिटब्युरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, वीरबहादुर राना, वैकल्पिक केन्द्रीय सदस्य अजम्बर राई काङमाङसहित अञ्चल र जिल्ला तहका नेताहरूले पार्टी परित्याग गर्नेछन् ।
‘अग्रगामी विचार समूह’का सात केन्द्रीय नेतामध्ये तीन नेता पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र दलबहादुर राना यसअघि नै विचार समूहबाट बाहिरिइसकेका छन् । स्रोतका अनुसार उनीहरूले नयाँ पार्टी निर्माणमा सहमति नजनाएपछि ‘अग्रगामी विचार समूह’ पुनर्गठनसमेत गरिसकिएको छ । उनीहरूले पार्टी निर्माणमा सहमति जनाएपछि उपाध्यक्ष अशोक राई संयोजक र रामचन्द्र झा सहसंयोजक रहने गरी विचार समूह पुनर्गठन गरिएको थियो । पुनगर्ठित समूहमा तीनै नेतालाई राखिएको छैन ।
भेलामा सबै जिल्लाका ३ देखि ५ जनासम्म नेताहरूलाई बोलाइएको केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले बताए । ‘भेलामा देशभरिका नेताहरू आउनुहुन्छ, भेलाले जे निर्णय गर्छ, हामी त्यो गर्छौं,’ नेता श्रेष्ठले भने, ‘सम्भवत: पार्टी परित्यागको निर्णय नै गर्नेछ ।’ असन्तुष्टहरूले यसअघि नै विचार समूहको नाममा जिल्ला कमिटी र भ्रातृसंगठनभित्र समानान्तर समिति बनाइसकेका छन् । उनीहरूले त्यसलाई ‘न्युक्लियस’ भन्दै आएका छन् । भेलामा त्यही ‘न्युक्लियस’का नेताहरू आउने बताइन्छ ।
अर्का नेता अजम्बर राई काङमाङले पार्टीले उत्पीडितहरूको अधिकार स्थापनालाई अस्वीकार गरेकाले पार्टी परित्याग गर्न लागिएको बताए । १८ असोज राजनीतिक दासत्वबाट मुक्तिको दिन हुने उनको भनाइ छ । ‘१८ असोज राजनीतिक दासत्व अमलेखको सुरुवाती दिनका रूपमा मान्नेछौँ,’ उनले भने । १८ असोजको भेलापछि स्वतन्त्र रूपमा पार्टी निर्माण प्रक्रिया सुरु गरिने नेता राईले बताए ।
स्रोतका अनुसार असन्तुष्ट नेताहरूले नयाँ पार्टी घोषणाको अन्तिम तयारी गरेर पार्टी छाड्न लागेका हुन् । प्रस्तावित पार्टीको विधान, घोषणापत्र र कार्यक्रममाथि अन्तिम छलफल भइरहेको नेता श्रेष्ठले बताए । पार्टीको नाम ‘संघीय समाजवादी पार्टी’ प्रस्ताव गरिएको छ । स्रोतका अनुसार पार्टीको प्रस्तावित कार्यक्रम नेता श्रेष्ठले तयार पारेका छन् । प्रस्तावित विधान, कार्यक्रम र अवधारणापत्रमाथि छलफल गरेर चाँडै अन्तिम रूप दिइने उनले बताए । स्रोतका अनुसार प्रस्तावित कार्यक्रमका केही बुँदामा कांग्रेसबाट आउन लागेका केही नेताले असहमति जनाएका छन् । बढी कम्युनिस्टमुखी कार्यक्रम भएको भन्दै असहमति जनाएको स्रोतको दाबी छ । स्रोतका अनुसार अन्य पार्टीका केही नेताहरूले गैरकम्युनिस्ट पार्टी बनाउनुपर्ने मत राखे पनि एमालेका नेताहरू माक्र्सवाद भने कुनै पनि हालतमा नछाड्ने पक्षमा छन् ।

प्रतिक्रिया