नेपाल आइडलको अडिसन धमाधम

काठमाडौं : रियालिटी सो नेपाल आइडलका लागि काठमाडौंबाट ७० जना प्रारम्भिक छनोटमा परेका छन् । ‘नेपाली मन, पन र आवाज’ भन्ने नाराका साथ केही दिनअघि आयोजित अडिसन राउन्डबाट ती सहभागी छानिएका हुन् ।
रेडलाइट इन्टरटेन्टमेन्ट प्रालिद्वारा आयोजित प्रतियोगिताका लागि पूर्वाञ्चलको विभिन्न स्थानबाट सहभागी छनोट गरिसकिएको छ । दमकबाट ३७, इलामबाट २५, धुलाबारीबाट ३४, विराटनगरबाट ३६ र धरानबाट ७९ प्रतिस्पर्धी छनोट भएको आयोजकले जनाएको छ । हेटौँडामा सोमबार, पोखरामा बुधबार, पुन: राजधानीमा असोज १३ र १४ गते अडिसन हुने कार्यक्रम संयोजक प्रवीण किरातीले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नेपाल आइडल उपाधिसाथै नगद एक लाख, प्रमाणपत्र र पाँच लाख बराबरको म्युजिक कन्ट्रयाक्ट पुरस्कारस्वरूप प्राप्त गर्ने बताइएको छ । दोस्रो र तेस्रो हुनेलाई क्रमश: नगद ५० र २५ हजार पुरस्कारका साथमा चलचित्रमा गीत गाउने अवसर दिइने र टप टेनमा पर्न सफल हुनेलाई म्युजिक एल्बम र म्युजिक भिडियोमा सहयोग गरिने आयोजकले घोषणा गरेको छ । (सौस)

प्रतिक्रिया