अध्यक्ष खनाल भारत प्रस्थान

काठमाडौं, ६ असोज । दलहरुका बीच राजनीतिक गतिरोधका बिषयमा छलफलहरु चलिरहेका समयमा एमाले अध्यक्ष झलनाथ खनाल आज भारत प्रस्थान गरेका छन् ।
प्रवासी नेपाली संघ भारतको सातौं सम्मेलनमा भाग लिन खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् । भारत बसाईका क्रममा केही भारतीय नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
मध्यप्रदेशस्थित भोपालमा आयोजना हुने सम्मेलनको खनालले भोलि आइतबार उद्घाटन गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए ।
अध्यक्ष खनालका साथ पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला, पूर्व केन्द्रीय सदस्य प्रमेश हमाल र स्वकीय सचिव अधिकारीपनि त्यसतर्फ प्रस्थान गरेका छन् ।
भारत प्रस्थान गर्नुअघि अध्यक्ष खनालले मुलुकको राजनीतिक र संवैधानिक संकट अन्त्यका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताए । उनले त्यसका लागि वर्तमान सरकारले मार्गप्रशस्त गर्नु पर्ने बताए ।

प्रतिक्रिया