मुठभेडको सम्भावनापछि पूर्वराजा लजमा

पोखरा, ६  असोज । राजनीतिक दलका कार्यकर्तासित मुठभेड हुने सम्भावनालाई ध्यानमा राख्दै पूर्वराजा ज्ञानेन्द्र शाहले म्याग्दी भ्रमण स्थगन गरेका छन् । धार्मिक यात्राको नाममा पूर्वराजाले ‘राजनीति गर्न खोजेको’ भन्दै प्रमुख दलहरूले म्याग्दी बन्दको घोषणा गरेका थिए ।
पूर्वराजाले म्याग्दी भ्रमण स्थगन गरेपछि दलहरूले शुक्रबार बन्द फिर्ता लिएका छन् । पूर्वराजा ज्ञानेन्द्रको स्वागतार्थ गठित स्वागत अभिवादन समितिका अनुसार मुठभेडको सम्भावनालाई ध्यानमा राखेर म्याग्दी भ्रमण स्थगन गरिएको हो । ‘दलहरूले अवरोध गर्दा पनि पूर्वराजाले भ्रमण गर्न सक्नुहुन्थ्यो तर मुठभेडमा नजाने मनस्थिति बनाएकाले उहाँकै इच्छाअनुरूप म्याग्दी भ्रमण स्थागन गरिएको हो,’ स्वागत समितिका सहसंयोजक केशव भण्डारीले भने ।
पूर्वराजा ज्ञानेन्द्र एक साता लामो धार्मिक यात्राका लागि बिहीबार पोखरा आएका थिए । म्याग्दी भ्रमण स्थगन भएपछि उनको धार्मिक कार्यक्रम एक दिन पछाडि सरेको छ । म्याग्दीमा उनले भर्तीकल बम शिवालय र गलेश्वर मन्दिर दर्शन गर्ने कार्यक्रम थियो । शुक्रबार उनले दिनभर पोखराको फिस्टेल लजमा आराम गरेर बिताए । आºना केही समर्थकसित पनि उनले भेटघाट गरे ।
सहसंयोजक भण्डारीका अनुसार पूर्वराजा ज्ञानेन्द्र शनिबार बाग्लुङस्थित कालिका र पर्वतको कुस्मास्थित गायत्रीमाता मन्दिर दर्शनका लागि बिहान साढे आठ बजे त्यसतर्फ जानेछन् । साँझ उनी पोखरा नै फर्कने कार्यक्रम छ । आइतबार उनले स्याङ्जाको गुणिखोलास्थित धनुशेश्वर महादेवको दर्शन गर्नुका साथै स्थानीय सर्वसाधारणसित भेटघाट गर्ने र सोमबार तनहँुको दमौलीमा पञ्चमन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यस्तै, मंगलबार पोखराको विन्ध्यवासिनी मन्दिर दर्शनका लागि नालाकोमुखदेखि करिब १५ मिनेट पैदलयात्राका साथ मन्दिर पुग्ने कार्यक्रम रहेको स्वागत समितिले जनाएको छ ।

प्रतिक्रिया