दाहाल, भट्टराई र महरा विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, ५ असोज । माओवादी लडाकुका शिविरमा भएको भ्रष्टाचारको छानविन गर्न माग गर्दै एमाले निकट युवा संघ नेपालले एमाओवादीका प्रमुख तीन नेता बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
केन्द्रीय पदाधिकारी सहित अख्तियार पुगेका संघका कार्यकर्ताले शिविरका लडाकुका नाममा भ्रष्टाचार गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराई र संगठन विभाग प्रमुख कृष्णबहादुर महरा विरुद्ध उजुरी दिएका हुन् ।
माओवादी शिविरमा फर्जी लडाकु बनाएर एमाओवादीले राज्यको ढुकुटीबाट चार अर्व भ्रष्टाचार गरेको आरोपामा छानविनको माग सहित अख्तियारमा उजुरी दर्ता गरेको संघका महासचिव निरज आर्चायले जानकारी दिए ।
‘एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र संगठन विभाग प्रमुख कृष्णबहादुर महरा विरुद्ध छानविन गर्न माग गरेर उजुरी दिएका छौं,’ उनले भने, ‘फार्जी लडाकुका नाममा भ्रष्टाचार भएको स्वयं एमाओवादीले स्वीकारेको छ ।’
संघले राज्यको ढुकुटी दुरुपयोग गर्ने लडाकु र एमाओवादीका नेतालाई कारबाही गर्न अख्तियारसँग माग गरेको छ ।
लडाकुको शिविरमा भ्रष्टाचार भएको भन्दै एमाओवादीले आन्तरिक छानविन गरेको छ भने विशेष समितिमा पनि सो विषयमा कुरा उठी सकेको छ । विशेष समिति संयोजक रहेका प्रधानमन्त्री भट्टराईले शिविर भित्रको भ्रष्टाचारमा छानविन गर्न सहयोग गर्ने प्रतिवद्धता पनि जनाई सकेका छन् ।

प्रतिक्रिया