चार अर्बभन्दा बढीको सेयर आउँदै

काठमाडौं, ५ असोज । चार वाणिज्य बैंकसहित १५ कम्पनीले चालू आवमा प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । कमर्ज एन्ड ट्रस्ट बैंक, मेगा बैंक, सिभिल बैंक र सेन्चुरी बैंकले चालू आर्थिक वर्षभित्रै साधारण सेयर निष्काशन गरिसक्ने जनाएको छ । सिभिलले ८० करोड रुपियाँ बराबरको ८० करोड, कमर्ज एन्ड बैंकले ६० करोड रुपियाँ, मेगा बैंकले ३० करोड र सेन्चुरीले एक अर्ब रुपियाँ बराबरका साधारण सेयर निष्काशन गर्दै छन् ।
बाँकी ११ कम्पनीले ७५ करोड ३० लाख ८६ हजार रुपियाँ बराबरको साधारण सेयर निष्काशन गर्दै छन् । सिभिलले ८० करोड रुपियाँ बराबरको सेयर मंसिरमा निकाल्ने गरी निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कमर्ज बैंकले पनि ६० करोड रुपियाँको सेयर निकाल्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । बैंकले मंसिरमा सेयर निकाल्ने तयारी गरिरहेको छ । तर, चारवटै बैंकले बोर्डमा अहिलेसम्म आवेदन दिएका छैनन् । त्यसैगरी, मेगाले चैतसम्म साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ । हाल सेयर बजारमा रिलायन्स फाइनान्स, इन्टरनेसनल डेभलपमेन्ट बैंक र काँक्रेबिहार डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा रहेको छ । बाँकी कम्पनीले भने धितो पत्र बोर्डमा सेयर निष्काशनका लागि निवेदन दिएका छन् । सिटी होम्स, राजधानी इन्भेस्टमेन्टबाहेक सबै विकास बंैक र फाइनान्स कम्पनी छन् । यी कम्पनीले ७५ करोड ३० लाख ८६ हजार ६ सय रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति मागेका छन् ।
बोर्डसँग इन्भेस्टा फाइनान्सले एक करोड  ६० लाख रुपियाँ, सिटी होम्स लिमिटेडले चार करोड ५० लाख, राजधानी इन्भेस्टमेन्ट फन्डले १२ करोड ३२ लाख, एनआइडिसी डेभलपमेन्ट बैंकले १८ करोड ४१ लाख ७६ हजार, मर्कन्टायल फाइनान्सले एक करोड ८० लाख, राइजिङ डेभलपमेन्ट बैंकले ६ करोड, स्वरोजगार लघुवित्त विकास बैंकले ४७ लाख १० हजार, जेविल्स फाइनान्सले नौ करोड ८० लाख र सिभिक डेभलपमेन्ट बैंकले एक करोड २० लाख रुपियाँको सेयर निष्काशनको अनुमति मागेका हुन् ।

प्रतिक्रिया