बस्तीबाट नहटाउन गुहार

राजविराज : पुस्तैां देखि बसोवास गर्दै आएका आफूहरूलाई गाउँकै केही व्यक्तिले उठिबास गराउन लागेको भन्दै फकिरा–७ का दलितले बिहीबार जिल्ला प्रशासन कार्यालय राजविराजमा गुहार मागेका छन् । गाउँका तारकेश्वर यादव, विश्वेश्वर यादव, शिवराम यादव, मिश्रीलाल यादव, भोला यादवलगायतले राति आएर घर खाली गर्न धम्की दिएको भन्दै उनीहरूविरुद्ध पीडित दलितले जिल्ला प्रशासन कार्यालय सप्तरीमा सुरक्षाका लागि निवेदन दर्ता गराएका छन् । ‘जबर्जस्ती घर भत्काउन दबाब दिइरहेका छन्,’ स्थानीय ब्रह्मदेव पासवानले भने, ‘घर नभत्काए आफैँ भत्काई सामानसमेत लुटेर लैजाने धम्की आएको छ ।’ आफूहरू सुकुम्बासी भएकाले बसिरहेको जग्गा छाडेर जान नसक्ने भएकाले सुरक्षाको माग गर्दै प्रशासनमा निवेदन दिएको उनीहरूले बताए । महिला तथा बालबच्चासहित सदरमुकाम आएका दलितले आफूहरूलाई षड्यन्त्रपूर्वक हटाउन लागिएको आरोपसमेत लगाएका छन् ।
घर खाली गर्न भनिएको बस्तीमा आफूहरू आठ घर पासवान (दलित) परिवार बसोवास गर्दै आएको राम पासवानले बताए । हामीलाई जग्गा खाली गराउन धम्क्याउनेहरूले प्रहरीमा समेत यसअघि नै उजुरी दिएपछि गाउँमा बुझ्न प्रहरी गएको र जग्गा खाली गर्नका लागि दबाबसमेत दिएको फकिरा–७ का कमलदेव पासवानले बताए । ‘बस्ती उठाउन प्रहरीले समेत दबाब दिन थालेको छ,’ उनले भने, ‘छाडेर कतै जाने उपाय पनि छैन ।’ आफूहरूसँग बुझ्दै नबुझी इलाका प्रहरी कार्यालय छिन्नमस्ताले एकतर्फी प्रतिवेदन बुझाएर दलित भएकै कारण आफूहरूलाई बिचल्लीमा पार्न खोजेको पीडितको गुनासो छ । घर खाली गराउन धम्की दिनेमध्येका अधिकांशले ऐलानी जग्गामा घर बनाएको जानकारी दिँदै उनीहरूले आºनो घर उठाए आफूहरू पनि बस्ती उठाउन तयार रहेको दलितले बताए । (सौस)

प्रतिक्रिया